काठमाडौं । मुलुकको अर्थतन्त्र स्थिर देखिए पनि लगानीकर्तामा आत्मविश्वास नदेखिएको नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले बताएका छन् । सोमबार नेपाल व्यवस्थापन संघ (म्यान) ले आयोजना गरेको मौद्रिक नीति २०८२/८३ को छलफलको क्रममा गर्भनर डा. पौडेलले उक्त कुरा बताएका हुन् ।
राष्ट्र बैंकको ढुकुटीमा अहिले १८/२० अर्ब डलर विदेशी मुद्रा सञ्चिति छ । बैंकिङ क्षेत्रमा २० खर्ब रुपैयाँभन्दा बढी निक्षेप छ । तर कर्जा लिन कोही आएका छैनन् । अर्थ अवस्था स्थिर रहे पनि लगानीकर्ताहरूमा आत्मविश्वास नदेखिएका कारण यो अवस्था आएको गर्भनर डा. पौडेलले बताए ।
अहिले मुलुकको आवश्यकता भनेको सबै क्षेत्रमा अवसरमा समान पहुँचको आवश्यकता हो । यो आवश्यकता पूरा भएको खण्डमा कर्जामा आम नागरिक सबैको पहुँच स्थापित हुन सक्ने उनले बताए । पछिल्लो समय केही क्षेत्रहरूमा राज्यको दुई वटा नीति भएकोजस्तो देखिन्छ । कुनै पनि क्षेत्रमा आर्थिक नीति दुई वटा नीति हुनु हुँदैन । कुनै पनि नीतिहरू पूर्णरूपमा कार्यान्वयन क्षमतासहितको सही र स्थिर भएको खण्डमा मुलुकको सिंगो अर्थतन्त्र सही दिशामा जाने गर्भनर डा. पौडेलेको भनाइ छ ।