काठमाडौं । सम्भवतः पानी कहिले बेइमानी हुँदैन । पानी जीवन हो, पानी जगत हो, पानी सिंगो संसार हो । पानीविना सिङ्गो जीवन र जगतको परिकल्पना असम्भव हुन्छ । तर यहाँ पानीलाई सही रूपमा व्यवस्थापन गर्न नसक्नेहरूले बेइमानी मान्ने गरेका छन् । जसले सिङ्गो संसारलाई जीवन दिएको छ, त्यही पानीलाई बेइमान मानेर गीत बनाउने गरिएको छ । यो कस्तो विडम्बना हो । पानीको कुरा गर्दा नेपाल भौगोलिकरूपमा विविधतायुक्त र जटिल संरचनाले भरिएको देश हो । हिमाल, पहाड र तराई मिलेर बनेको यस देशमा हरेक वर्ष मनसुनको समयमा वर्षा हुने गर्छ । यो वर्षा जीवन र कृषिका लागि आवश्यक भए पनि अत्यधिक वर्षा, विशेषगरी असन्तुलित तथा एकछिनमै हुने झरीले गर्दा हाल बाढी र पहिरोको जोखिम भयावहरूपमा बढ्दै गएको छ । पछिल्ला केही वर्षहरूमा यो समस्या झन् गम्भीर बन्दै गएको देखिन्छ । अब प्रश्न उठ्छ—किन वर्षासँगै बाढी र पहिरोको जोखिम यति तीव्र गतिमा बढिरहेको छ ।
बाढी–पहिरोको सबैभन्दा प्रमुख कारण जलवायु परिवर्तन हो । जलवायु परिवर्तनका कारण मौसम प्रणाली असन्तुलित हुँदै गएको छ । पहिलेभन्दा वर्षाको मात्रा र वितरण दुवैमा ठूलो अन्तर देखिन्छ । खासगरी ‘क्लाउड बस्र्ट’ अर्थात् अल्पसमयमै अत्यधिक वर्षा हुने घटना बढिरहेका छन् । यस्तो एकैछिनको झरीले नदी नालामा एक्कासि पानीको बहाब अत्यधिक बढाउँछ, जसका कारण बाढी र पहिरो निम्तिन्छ । नेपालको जलवायु प्रणालीमा देखिएको यो अस्थिरता वैज्ञानिकहरूले ‘ग्लोबल वार्मिङ’सँग जोड्दै आएका छन् । तापमान बढ्दै जाँदा वायुमण्डलमा वाष्प धेरै जम्मा हुन्छ, जसले एकैचोटि अत्यधिक वर्षा गराउँछ । अर्को कारण भनेको अनियन्त्रित सहरीकरण हो । विकासको नाममा जथाभावी सडक निर्माण, भवन निर्माण र जंगल फँडानी भइरहेका छन् । प्राकृतिक निकास मार्गहरू (जस्तैः खोला, खोल्सी) मासिँदै गएका छन् । नदी किनारमा समेत अव्यवस्थित बसोबास बढेको छ । यसले गर्दा जब पानी पर्न थाल्छ, त्यसको बहाबलाई रोक्ने कुनै प्राकृतिक अवरोध हुँदैन, जसले गर्दा बाढी आउँछ । त्यस्तै, पहाडी क्षेत्रमा घर बनाउँदा भू–गर्भीय परीक्षण नगरी बनाउने गरिन्छ । कमजोर जमिनमा बनाइएका यस्ता संरचनाहरू भारी वर्षाले चिरा पर्ने, भासिने र पहिरो खस्ने सम्भावना बढाउँछन् ।
बाढीपहिरोको प्रमुख कारण भनेको वन विनाश र माटोको क्षय पनि हो । वन क्षेत्रमा भइरहेको कटानीले माटोको सम्हाल गर्ने प्राकृतिक संयन्त्र समाप्त हुँदै गएको छ । वनस्पतिहरूको जराले माटो समातेर राख्ने काम गर्छन् । तर जब जंगल फँडानी हुन्छ, त्यो माटो खुला रहन्छ र पानी पर्नासाथ बगेर जान्छ । यसले माटोको उब्जाउपन मात्र होइन, बाढी र पहिरोको जोखिम पनि बढाउँछ । वन विनाशको एउटा ठूलो कारण दाउरा, बालुवा, ढुंगा आदि निकाल्ने कार्य हो, जुन प्रायः नियन्त्रणबाहिर छ । स्थानीय सरकारहरूले राजस्वको स्रोतको रूपमा यस्ता क्रियाकलापलाई अनुमति दिँदा दीर्घकालीन असर बेवास्ता गरिएको देखिन्छ ।
कमजोर पूर्वाधार र योजनाहरूले पनि बाढी–पहिरो निम्त्याउने गरेको छ । नेपालमा विकास निर्माणका कार्यहरू प्रायः अल्पकालीन सोचमा आधारित हुन्छन् । सडक, पुल, ढल निकासजस्ता संरचनाहरू जलवायु अनुकूलनलाई ध्यानमा नराखी निर्माण गरिन्छन् । धेरैजसो सडकहरू वर्षाको समयमा बग्ने, पहिरोले बिथोल्ने देखिन्छ । अर्को समस्या भनेको योजनाको कार्यान्वयनमा पारदर्शिता र अनुगमनको अभाव हो । धेरैजसो आयोजना गुणस्तरहीन छन्, जसले गर्दा अलिकति वर्षा हुँदा विपत् आउँछ । हामीकहाँ बाढी–पहिरो नियन्त्रण र रोकथामको लागि चेतना र तयारीको अभाव रहेको छ । आपत्कालीन तयारीका पक्षहरू अझै पनि कमजोर छन् । बाढी र पहिरोका सम्भावित क्षेत्रहरूमा बसोबास गरिरहेका मानिसहरूलाई जोखिमको जानकारी दिने, समयमै स्थानान्तरण गर्ने, सुरक्षित स्थानको व्यवस्था गर्नेजस्ता कामहरू अझै पनि प्रभावकारीरूपमा हुन सकेको छैन । यसले गर्दा पनि नेपालमा प्रत्येक वर्ष बाढी–पहिरोको जोखिम बढ्दै गएको छ । स्थानीय तहहरूले बाढी–पहिरोको सिजनमा मात्र केही सतर्कता अपनाउँछन्, जुन दीर्घकालीन समाधान होइन । जनताको चेतना अभावले पनि यो समस्या झन् जटिल बनाएको छ ।
नेपालमा बाढी–पहिरोको जोखिम बढ्नुको प्रमुख कारण जल निकासी प्रणालीको समस्या पनि हो । सहर तथा पहाडी बजारहरूमा जल निकासी प्रणाली कमजोर वा अभावमा रहेको छ । सडकहरूमा पानी जम्ने, साना खोला खोल्सीमा रुकावट आउनु, ढल निकास अवरुद्ध हुनुजस्ता समस्याहरूले वर्षाको पानी सजिलै बाहिर जान पाउँदैन । यसले सहरी बाढी निम्त्याउँछ, जुन स्वास्थ्य, यातायात र संरचनात्मक क्षतिका हिसाबले अत्यन्त घातक छ ।
कसरी गर्न सकिन्छ बाढी–पहिरोको रोकथाम र नियन्त्रण ?
बाढी र पहिरोको जोखिम घटाउनका लागि सबै क्षेत्रको भूमिका, सहकार्य र सहयोग आवश्यक रहेको छ । बाढी–पहिरोको जोखिम घटाउने पहिलो उपाय भनेको वैज्ञानिक आधारमा योजना निर्माण गर्नु हो । सडक, भवन, पुल, जलनिकास प्रणाली आदि बनाउँदा भू–गर्भीय अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गरिनुपर्छ । अर्को पक्ष भनेको वन संरक्षण हो । वन फँडानी रोक्ने कडा नीति बनाउनु र स्थानीय बासिन्दालाई वन संरक्षणमा संलग्न गराउनु आवश्यक रहेको छ । सामुदायिक वनको प्रयोग यसतर्फ सकारात्मक उदाहरण हो । चेतना अभिवृद्धि भएको खण्डमा पनि बाढी–पहिरो नियन्त्रण तथा रोकथाम गर्न सकिन्छ । यसको लागि स्थानीय बासिन्दालाई बाढी र पहिरोको जोखिम, पूर्वतयारी र आपतकालीन व्यवस्थापनबारे तालिम र जानकारी दिनु पर्छ । जलवायु परिवर्तनलाई मध्यनजर राखी दिगो, बलियो र वातावरणमैत्री पूर्वाधार निर्माण गर्न सकेको खण्डमा पनि नेपालमा बाढी–पहिरोको जोखिम कम हुन्छ । राम्रो मौसम पूर्वानुमान, रियलटाइम सूचना प्रणाली र स्मार्ट अलर्ट प्रणाली सञ्चालन गरी समयमै जनतालाई सचेत गराउन सकेको खण्डमा पनि जनतालाई बाढी–पहिरोको जोखिमबाट बचाउन सकिन्छ ।
वर्षा हाम्रो प्राकृतिक प्रणालीको महत्वपूर्ण हिस्सा हो । तर जलवायु परिवर्तन, मानव निर्मित हस्तक्षेप र अव्यवस्थित विकासका कारण बाढी र पहिरोको जोखिम दिनानुदिन बढ्दै गएको छ । यदि हामीले आजै उचित नीति, योजना र व्यवहार परिवर्तन गरेनौँ भने यो समस्या अझ भयावह रूप लिन सक्छ । त्यसैले वर्षा व्यवस्थापनलाई प्राकृतिक मात्र नभई नीतिगत र सामाजिक मुद्दाका रूपमा बुझेर सोहीअनुरूप रणनीतिहरू बनाएर काम गर्नु आवश्यक रहेको छ ।