काठमाडौं । प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोरजंग कार्कीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष कार्कीले सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।
शपथग्रहणलगत्तै सोमबार बसेको बैंक सञ्चालक समितिको तीन सय ८१औँ बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक बालुवाटारमा सम्पन्न शपथग्रहण कार्यक्रममा डेपुटी गभर्नर निलम ढुङ्गाना र डेपुटी गभर्नर बमबहादुर मिश्र तथा बैंक सुपरीवेक्षण विभागका प्रमुख दीर्घ रावलको उपस्थिति रहेको थियो । सो अवसरमा प्रभु बैंकका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतको पनि उपस्थिति रहेको थियो । विसं २०८१ पुस २९ गते सम्पन्न बैंकको २३औँ वार्षिक साधारणसभामा सर्वसाधारण समूहका सेयरधनीहरूको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालकमा निर्वाचित भएका किशोरजंग कार्की गत असार १९ गते सम्पन्न बैंकको सञ्चालक समितिको तीन सय ८०औं बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका अध्यक्ष यसअघि लोक सेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अर्थ मन्त्रलाय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रलायको सहसचिवको रूपमा सेवा गरिसकेका छन् ।
त्यसैगरी निजामती किताबखाना, आन्तरिक रजस्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका अध्यक्ष किशोरजंग कार्कीले नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद् र कृषि अनुसन्धान कोषमा सञ्चालक समिति सदस्यमा रहेर समेत विविध कार्यानुभव हासिल गरेका छन् । ३८ वर्षभन्दा बढी अवधि नेपालको सरकारी सेवामा सेवारत रही विभिन्न आयोग, विभाग एवं निकायको सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै लामो अनुभव हासिल गरेका अध्यक्ष कार्कीको नेतृत्व प्राप्त गर्नु प्रभु बैंक लिमिटेड, सेयरधनी, ग्राहक तथा सरोकार राख्ने सबैको लागि गौरवको विषय भएको बैंकले जानकारी दिएको छ ।