काठमाडौं । ‘औतारी रिन्पोचे नावाङ तेन्जिङ लामा वातावरण संरक्षण पुरस्कार’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेललाई प्रदान गरिएको छ ।
तेन्जिङ हिलारी एभरेस्ट म्याराथनद्वारा सोमबार आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले महानिर्देशक कँडेललाई तीन लाख सात हजार सात सय ७७ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेका हुन् । पुरस्कार हस्तान्तरण गर्दै राष्ट्रियसभा सदस्य शेर्पाले राष्ट्रिय निकुञ्ज भएको कारण सगरमाथा र खुम्बु क्षेत्र बाँचिरहेको बताए । ‘कसैले राष्ट्रिय निकुञ्जको विरोध ग¥यो भने मेरो चित्त दुख्छ, वातावरण बचाउन राष्ट्रिय निकुञ्जलाई बचाउनुपर्छ, अब संरक्षणलाई कसरी अगाडि बढाउने भनेर हामीले ध्यान दिनुपर्छ । राष्ट्रिय निकुञ्ज पुस्तौँपुस्तासम्म बचाएर राख्नुपर्छ, राजनीति गरेर एकले अर्कोलाई नटेर्ने र समन्वय नगर्ने अवस्था हुनुहुँदैन, हाम्रो बीचमा भएका समस्यालाई समाधान गरौँ’, उनले भने ।
पुरस्कार ग्रहणसँगै महानिर्देशक कँडेलले जीवनमा गरेका पवित्र कार्यको मूल्याड्ढन भएकोमा प्रकृतिको सृष्टिप्रति सम्मान गर्दै संरक्षणमा क्रियाशील हुनुपर्नेमा जोड दिए । उनले सानैदेखि समाजले आत्मसम्मान गर्ने खालका काम गर्न आफूलाई मन लाग्ने गरेको बताउँदै स्थानीय समुदायसँग मिलेर सहज ढङ्गले संरक्षणका क्षेत्रमा काम गर्न सकिने बताए । यस्तै, उनले आफूले प्राप्त गरेको पुरस्कार कुनै संस्थामार्फत संरक्षणका क्षेत्रमा परिचालन गर्ने जानकारी दिए । तेन्जिङ हिलारी एभरेस्ट म्याराथनका संस्थापक अध्यक्ष विक्रम पाँडे काजीले ट्रेकिङ, म्याराथन र संरक्षणका क्षेत्रमा काम गर्ने उद्देश्यका साथ पुरस्कारको स्थापना गरिएको बताए । उनले पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न चाहने व्यक्ति भएकाले पर्यावरण बचाउने प्रयासस्वरूप पुरस्कार स्थापना गरिएको जानकारी दिए ।