काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बेलायतका लगानीकर्ताहरूलाई नेपालमा मेट्रो रेलमा लगानी गर्न आग्रह गरेका छन् ।
नेपाली राजदूतावास युके लन्डन र सोसाइटी अफ नेप्लिज इन्जिनियर्स युकेले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा उनले नेपालमा यातायात पूर्वाधारमा धेरै सम्भावना भएको बारे प्रष्ट पार्दै मेट्रो रेलमा लगानी गर्न अनुरोध गरेका थिए । लगानी बोर्डले यसमा पूर्णरूपमा लगानीको सुरक्षाको प्रत्याभूति दिने उनले बताए । सीईओ ज्ञवालीले लगानीका प्रावधानबारे प्रष्ट पार्दै नेपालमा अहिले राम्रो लगानीको वातावरण भएको र प्रतिफलको पनि सम्भावना रहेको बताएका थिए ।
नेपाल–जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द्र कुँवरले बेलायत र जर्मनीका लगानीकर्ताहरूसँग वार्ता गरेर नेपालमा मेट्रो रेलमा लगानी परिचालन गर्ने बताए । साथै, सोसाइटी अफ नेपालिज इन्जिनियर्स युकेका इन्जिनियर सुबोध तिमिल्सिनाले मेट्रो रेलको पूरा खाका साथै आफ्नो अनुभव सुनाउँदै लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गरे । त्यसैगरी, बेलायतका लागि नेपालका राजदूत चन्द्र घिमिरेले नेपालमा मेट्रो रेलमा लगानी गर्ने ठूलो अवसर भएको बताए । आयोजकको तर्फबाट बोल्दै उनले विभिन्न लगानीकर्ताहरूले लगानी गर्न र यसको प्रतिफल लिन अनुरोध गर्दै नेपालमा व्यावसायिक वातावरण राम्रो भएको उल्लेख गरे ।