काठमाडौँ । निर्माणधीन नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गमा पेट्रोलियम पदार्थ र हतियार बोकेका सवारी साधनलाई प्रवेश निषेध गरिने भएको छ ।
यातायात व्यवस्था विभागले जारी गरेको नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ अनुसार नियमनकारी निकायले अत्यधिक प्रज्वलनशील पदार्थहरू (मट्टितेल, डिजेल, पेट्रोल, ग्यास आदि), जुनसुकै किसिमका विस्फोटक पदार्थ, सुरक्षा निकायबाहेकका हातहतियार बोकेका जुनसुकै सवारी साधनलाई सुरुङ मार्ग प्रवेशमा रोक लगाउनुपर्नेछ । यस्तै, दुर्गन्धित, गन्हाउने तथा कुहिएका मालसमान, प्रचलित कानुनबमोजिम निषेध गरिएका अन्य मालसामान बोकेका सवारी साधन पनि सुरुङमा प्रवेश पाउने छैनन् । तर, सरकारले निर्णय गरेमा जुनसुकै सवारी साधनलाई सुरुङ मार्गबाट प्रवेश गर्न दिन सकिने निर्देशिकामा उल्लेख छ ।
निर्देशिका अनुसार नै सुरुङ मार्ग भएर पैदलयात्री, दुईपाङ्ग्रे सवारी साधन, तीनपाङ्ग्रे सवारी साधन, मोटर नभएको सवारी साधनमा समेत प्रवेश निषेध गरिएको छ । यस्तै, जोखिमयुक्त मालसामान बोकेका सवारी साधन (डिजेल, पेट्रोल, ग्यासजस्ता अत्यधिक प्रज्वलनशील पदार्थ, विस्फोटक पदार्थ बोकका सवारी), नेपाल रोड स्ट्यान्डर्ड (एनआरएस) २०७० ले तोकको लम्बाइ १८ मिटर वा चौडाइ दुई दशमलव पाँच मिटर वा उचाइ चार दशमलव ७५ मिटरभन्दा अधिक नाप भएका सवारी साधन र विभागबाट जारी भएको ‘मालवाहक सवारीको भारवहन नियमन निर्देशिका, २०७४’ र सडक विभाग तथा विभागबाट जारी हुने भारवहनसम्बन्धी निर्देशिकाले तोकेको क्षमताभन्दा बढी भार बोकेका सवारी साधनले पनि सुरुङ मार्गमा प्रवेश पाउने छैनन् ।
निर्देशिकाले गतिलाई लिएर पनि मापदण्ड तय गरेको छ । सुरुङ मार्गमा सवारी साधनको गति प्रतिघण्टा ६० किलोमटिर भन्दा अधिकतम गतिमा गुड्न नपाउने भएका छन् ।
विभागले आवश्यकता अनुसार अधिकतम गति प्रतिघण्टा ६० किलोमिटरभन्दा कम हुने गरी तोक्न सक्ने अधिकारको व्यवस्था गरिएको छ । विभागका सूचना अधिकारी गणेशमान सिंह राईका अनुसार सुरुङ मार्ग सञ्चालनका लागि दक्ष जनशक्ति आवश्यक पर्नेछ । उनका अनुसार सुरुङभित्र जडान गरिएका सडक बत्ती, भेन्टिलेसन, जेट फ्यान, आगलागी नियन्त्रण सामग्री सञ्चालनका लागि अनुभवि दक्ष जनशक्ति आवश्यक पर्छ । यसका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयसँग मिलेर अघि बढ्ने तयारी रहेको छ ।
सुरुङ मार्ग सञ्चालनका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयसँग मिलेर आवश्यक मापदण्डसहितको सम्झौताको कागजातको मस्यौदा तयार पारिएको विभागले जानकारी दिएको छ । सुरुङ मार्ग बनाइरहेको जापानी कम्पनीले निर्माण सम्पन्न भएपछि सरकारलाई हस्तान्तरण गर्नेछ । जाइकाको सहुलियतपूर्ण ऋणमा वि.सं. २०७६ देखि निर्माण सुरु गरिएको नागढुङ्गा–सुरुङ निर्माण सम्पन्न गर्ने म्याद असोजसम्म रहेको छ । पुसदेखि सवारी साधन सञ्चालनमा ल्याउन सकिने योजनाका साथ सडक विभाग अघि बढिरहेको छ ।
निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग मुलुकको पहिलो सुरुङ मार्गको रूपमा रहेको छ । यसअघि नेपालमा सडक यातायातका लागि सुरुङ मार्ग निर्माण भएको थिएन । लक्ष्यअनुसार निर्माण सम्पन्न भएमा नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग सवारी साधन गुड्ने मुलुकको पहिलो सुरुङ मार्ग बन्ने छ ।