काठमाडौँ । रसुवामा मंगलबार बिहान भोटेकोशी नदीमा एक्कासी आएको लेदोसहितको भीषण बाढीका कारण नेपाल–चीन (तिब्बत) जोड्ने मोटरेबल पक्की पुल बगाउँदा दुई देशको आवतजावत पूर्णतः बन्द भएको छ भने नेपालतर्फ ठूलो मानवीय तथा भौतिक संरचनामा भयानक क्षति पुगेको छ ।
काठमाडौंस्थित जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको तिब्बत क्षेत्रमा भारी वर्षा नभए पनि एकैपटक लेदोसहितको भीषण बाढी आएकोमा आश्चर्य मान्दै सूक्ष्म तरिकाले अध्ययन सुरु गरेको जनाएको छ ।
विभागले तिब्बतबाट नेपालमा एक्कासी बाढी प्रवेश गर्नुमा भारी वर्षा मात्र नभएर हिमताल वा अन्य कुनै मानव निर्मित संरचना फुटेको हुन सक्ने आशंका गरेको छ । यस विषयमा नेपालका अधिकारीहरूले चीनबाट आधिकारिक सूचना पाउन सकेका छैनन् ।
‘वर्षा भएर बाढी आउँदा नदीमा जलसतह क्रमशः बढ्नुपर्ने हो’, विभाग स्रोतले भन्यो, ‘तिब्बततर्फ पानी पर्दा क्रमशः नदीमा बाढीको सतह बढ्दै जानुपर्नेमा मंगलबार बिहान तिब्बतबाट एकैपटक एक्कासी लेदोसहितको ठूलो बाढी नेपाल प्रवेश गरेको देखिन्छ । यो हाम्रो लागि खोज तथा अनुसन्धानको विषय भएको छ । यसमा विभिन्न तरिकाले अध्ययन सुरु गरेका छौँ ।’
भोटेकोशी नदीमा आएको उक्त लेदोसहितको भीषण बाढीले रसुवागढी सीमा क्षेत्रदेखि नै नेपालको सडक, सुख्खा बन्दरगाह, पुल, जलविद्युत् आयोजनाको ड्याम, पार्किङ र चार्जिङ स्टेसनमा राखिएका गाडीहरू बगाएको छ भने गाडी तथा अन्य क्षेत्रमा कार्यरत कामदार र सुरक्षाकर्मीहरू पनि बगेका छन् ।
बाढीले कति मालवाहक र कति भन्सार पासका लागि राखिएको गाडी बगायो वास्तविक विवरण भने आइसकेको छैन । त्यसका लागि केही दिन लाग्ने बताइएको छ । यद्यपि, पाँच अर्ब रुपैयाँ बराबरको आयात गरिएको सामान र गाडी बगाएको प्रारम्भिक अनुमान छ । बाढीका कारण एक सय ११ मेगावाटको रसुवागढी, त्रिशुली–३ ए र बी जलविद्युत् आयोजना गरी करिब दुई सय मेगावाटको जलविद्युत् आयोजना पूर्णतः बन्द भएको छ ।
बाढीमा फसेकाहरूको उद्दारका लागि मंगलबार बिहानैदेखि नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरिएको थियो । उद्दारका लागि गएको हेलिकोप्टर चीनतर्फको भूमिमा ल्यान्ड भएको छ । प्राविधिक समस्याका कारण चीनतर्फ राखिएको बताइएको छ । यद्यपि, यसको वास्तविकता के हो यकिन भएको छैन । कतिपयले चिनियाँ अधिकारीहरूले रोकेको भन्ने अनुमान पनि लगाएका छन् ।
रसुवागढी नेपालको चीनतर्फ व्यापार हुने प्रमुख नाका हो । यो नाकाबाट नेपाल र चीनतर्फ मालसामान मात्र होइन मान्छे समेत ओहोरदोहोर गर्न पाउँछन् । बाढीले पुल र सडकमा गरेको क्षतिको कारण स्थलमार्गबाट पवित्र धार्मिक स्थल मानसरोवर जाने र फर्किने यात्रीहरू प्रभावित भएका छन् । सिमानाको मोटरेबल पुलको साथै स्याफ्रुबेसीदेखि उत्तरतर्फको सडक पुल बगाएका कारण उक्त नाका अनिश्चितकालका लागि पूर्णतः बन्द भएको छ । अहिले टिमुरे भन्सार क्षेत्रबाट रसुवाको सदरमुकाम धुन्चे आवतजावत गर्न सक्ने अवस्था पनि छैन । सडक र पुलमा भएको क्षतिको विवरण भने संकलन सुरु गरिएको सडक विभागले जनाएको छ ।

नेपालमा दशैंलगायतका चार्डका लागि सामान आयात हुन लाग्ने बेलैमा उक्त नाका बन्द भएपछि नेपाली व्यवसायीले ठूलो समस्या झेल्नुपर्ने भएको छ । यही बेला सिन्धुपाल्चोकको तातोपानी नाका पनि राम्रोसँग सञ्चालन हुन सकेको छैन । तातोपानी नाकाको नेपालतर्फको सडक अहिले पनि अलपत्रजस्तै छ । सोही कारण पछिल्लो समयको व्यापार रसुवागढीतर्फ नै बढी केन्द्रित थियो । यही बेला उक्त नाका अनिश्चितकालका लागि बन्द भएपछि अब चीनबाट सामानहरू सामुद्रिक नाकाबाट ल्याउनुको विकल्प छैन ।
रसुवागढी नाकाबाट चालू आर्थिक वर्षको असार २३ गते रातिसम्म करिब पौने एक खर्बको व्यापार भएको अनुमान छ । यो एक सातामा पनि दुई÷चार अर्ब रुपैयाँको कारोबार हुने अवस्था थियो । तर, मंगलबार बिहान एक्कासी आएको बाढीले दुई देशको सिमानामा रहेको मोटरेबल मितेरी पुल बगाएका कारण अब चालू आवको बाँकी दिन मात्र होइन आगामी आवको कहिलेसम्म उक्त नाका बन्द हुन्छ भन्न सक्ने अवस्था छैन ।
मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओली नेपालस्थित चिनियाँ राजदूत चेन सोङ र उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, सिँचाइमन्त्री दीपक खड्का, चारवटै सुरक्षा निकायका प्रमुखलगायतको टोली लिएर बाढी प्रभावित रसुवाको स्थलगत अवलोकन गरी क्षतिको अवस्था हेरेर खोज, उद्धार र राहतको साथै क्षतिको विवरण संकलन गर्न निर्देशन दिएर काठमाडौं फर्किएका छन् ।
उक्त बाढीमा फसेका ५५ जनाको मंगलबार उद्धार गरिएको छ भने १८ जना बेपत्ता भएको प्रहरीको विवरण छ । रसुवागढी आसपासबाट बेपत्ता भएका १८ मध्ये एक जना सुरक्षाकर्मी प्रहरीका असई लालबहादुर श्रेष्ठको शव भने मंगलबार साँझ चितवनको पन्ध्र किलोस्थित त्रिशुली नदी किनारमा फेला परेको छ । उनको एउटा खुट्टामा प्रहरीले डिउटीमा लगाउने बुट नै रहेको सुरक्षाकर्मीले जानकारी दिएका छन् ।