काठमाडौँ । नेपाल राष्ट्र बैंकले महँगी दर घट्दै गएको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको ११ महिना (साउन–जेठ)को आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै महँगी दर (मुद्रास्फीति) घटेको देखाएकोे हो । तर अहिले बजारमा खासगरी उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च देखिएको छ ।
बजारमा तरकारी फलफूल, दैनिक उपभोग्य वस्तुहरू सबैको मूल्य बढेको आम उपभोक्ता बताउँछन् । यो अवस्थामा राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको ११ महिना (साउन–जेठ) सम्म वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) दुई दशमलव ७२ प्रतिशत छ । जुन अघिल्लो वर्षको सोही अवधिमा चार दशमलव १७ प्रतिशत थियो ।
मुद्रास्फीति भनेको कुनै पनि वस्तु तथा सेवाको मूल्य बढ्नु र पैसाको क्रयशक्ति घटनु हो । अर्थात्, थोरै सामान किन्न धेरै पैसा आवश्यक पर्नु हो । बजारको अवस्था अहिले यस्तै छ । तर राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले भने बजारमा वस्तु तथा सेवाको महँगी दर विगतका वर्षमा भन्दा नियन्त्रणमा रहेको देखाएको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यु तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव शुन्य छ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको पाँच दशमलव १३ प्रतिशत, फलफूलको तीन दशमलव ५१ प्रतिशत र दाल तथा गेडागुडीको दुई दशमलव ८५ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क सात दशमलव चार प्रतिशत, मरमसलाको तीन दशमलव छ प्रतिशत र माछा तथा मासको दुई दशमलव ९१ प्रतिशतले घटेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क नौ दशमलव ४३ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव ८२ प्रतिशत, शिक्षाको पाँच दशमलव ८८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको पाँच दशमलव शून्य छ प्रतिशत र सुर्तीजन्य पदार्थको चार दशमलव ६८ प्रतिशतले बढेको छ ।
ग्रामीण क्षेत्रमा महँगी दर दुई दशमलव ९० प्रतिशत र सहरी क्षेत्रमा दुई दशमलव ६६ प्रतिशतले बढेको छ । प्रदेशगतरूपमा कोशी प्रदेशकोे मुद्रास्फीति चार दशमलव १८ प्रतिशत, मधेश प्रदेशको दुई दशमलव ५२ प्रतिशत, बागमती प्रदेशको दुई दशमलव २९ प्रतिशत, गण्डकी प्रदेशको एक दशमलव ७५ प्रतिशत, लुम्बिनी प्रदेशको दुई दशमलव ३९ प्रतिशत, कर्णाली प्रदेशको दुई दशमलव ५४ प्रतिशत र सुदूरपश्चिम प्रदेशको तीन दशमलव ८६ प्रतिशत छ । काठमाडौं उपत्यकाको मुद्रास्फीति दुई दशमलव ७३ प्रतिशत, तराईको दुई दशमलव ५८ प्रतिशत, पहाडको दुई दशमलव ४८ प्रतिशत र हिमालको चार दशमलव १८ प्रतिशत छ ।
शोधनान्तर स्थिति र चालू खाता बचतमा
मुलुकको चालू खाता २०८२ जेठ मसान्तसम्म तीन खर्ब सात अर्ब ३१ करोड रुपैयाँले बचतमा देखिएको छ । एक वर्षअघि चालू खाता दुई खर्ब ३८ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा चालू खाता दुई अर्ब २६ करोडले बचतमा छ । गत वर्ष जेठमा एक अर्ब ५१ करोड अमेरिकी डलर बचतमा थियो । यस्तै, खुद पुँजीगत ट्रान्सफर आठ अर्ब ९६ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा पाँच अर्ब ४६ करोड रुपैयाँ थियो ।
शोधनान्तर स्थिति पनि २०८२ जेठसम्म चार खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति तीन अर्ब ६२ करोडले बचतमा छ । गत वर्ष जेठमा तीन अर्ब २० करोड बचतमा थियो ।
रेमिट्यान्स १५ खर्ब ३२ अर्ब भित्रियो
वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स आप्रवाह बढेको छ । चालू आर्थिक वर्षको ११ महिना (साउन–जेठ) सम्म १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएकोे छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव पाँच प्रतिशत बढी हो । गत आर्थिक वर्षको ११ महिनाको रेमिट्यान्स आप्रवाह १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ थियो ।
यस आर्थिक वर्षको ११ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव सात प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष ११ महिनामा अमेरिकी डलरमा नौ अर्ब ५८ करोड रेमिट्यान्स भित्रिएको थियो ।
विदेशी विनिमय सञ्चिति २५ खर्ब ६९ं अर्ब
विदेशी मु्द्राको सञ्चिति बढेको छ । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको विदेशी विनिमय सञ्चिति २०८२ जेठसम्म २५ दशमलव नौ प्रतिशत बढेर २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँबराबर पुगेको छ । अमेरिकी डलरमा २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ जेठ मसान्तमा २२ दशमलव दुई प्रतिशतले बढेर १८ अर्ब ६५ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ जेठ मसान्तमा २३ प्रतिशतले बढेर २२ खर्ब ७४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ जेठ मसान्तमा ५३ दशमलव दुई प्रतिशतले बढेर दुई खर्ब ९४ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । २०८२ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २० दशमलव पाँच प्रतिशत छ ।
राष्ट्र बैंकले १२ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ महिना १८ दिनको वस्तु आयात र १४ महिना २१ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
सेवा आय घाटामा
चालू आर्थिक वर्षको ११ महिनामा खुद सेवा आय ९७ अर्ब ३३ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५६ अर्ब ३६ करोड रुपैयाँले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय छ दशमलव नौ प्रतिशतले बढेर ८२ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७६ अर्ब ८८ करोड रुपैयाँ थियो ।
सेवा खाताअन्तर्गत भ्रमण व्यय १६ दशमलव पाँच प्रतिशतले बढेर दुई खर्ब तीन अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय एक खर्ब २४ अर्ब ८० करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय एक खर्ब ७५ अर्ब १६ करोड रहेकोमा शिक्षातर्फको व्यय एक खर्ब १७ अर्ब एक करोड रुपैयाँ थियो ।