काठमाडौं । गएको जेठ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठका लागि हदबन्दीभन्दा बढी जग्गा दिएको र त्यो जग्गा सट्टापट्ट गरी प्लटिङ गरेर बिक्री गर्न अनुमति दिएको आरोपमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललगायत ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्यो । त्यो मुद्दामा मिटरब्याजी विरेन्द्रलाल श्रेष्ठदेखि उपकुलपतिकी श्रीमती निर्मला पौडेलसम्म छन् । तर तानिएकाहरूमध्ये प्रमुख पात्र उक्त निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री नेपाल अग्रपङ्तिमा छन् । उनीविरुद्ध मुद्दा दायर भएपछि उनको सांसद पद निलम्बन भएको छ । मुद्दा परेपछि नैतिकता देखाएर उनले नेकपा एकीकृत समाजवादीको अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने कुरा जनस्तरबाट उठेको छ, चर्चा चलिएरहेको छ । तर उनले नैतिकता देखाएनन्, राजीनामा दिएनन् । विचराले नैतिकता भएको भए पो देखाउँछन् ! नभएको नैतिकता कसरी देखाऊन् ? उनले राजीनामा दिएनन् । उनले नैतिकता देखाएर पार्टी अध्यक्षबाट राजीनामा नदिएपछि जताततै उकुसमुकुस भएको थियो । जनस्तरमा त माकुनेले राजीनामा नदिएको चर्चापरिचर्चा भएकै थियो । उनले राजीनामा नदिएपछि सामाजिक सञ्जाल आलोचनाले रङ्गिएको थियो । जनस्तरका तिनै भावनलाई समेटेर पार्टी सचिव रामकुमारी झाँक्रीले असार १४ गते रुपन्देहीमा आयोजित पार्टीकै एउटा कार्यक्रममा मरेको लासको गनाएको सिनो काँधमा बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिइन् । पार्टी जोगाउने हो भने नेतृत्व परिवर्तन अपरिहार्य रहेको उनको तर्क थियो । नयाँ पार्टी भएकाले नेतृत्व भ्रष्टाचारमा मुछिएपछि नेतृत्व फेरेर पार्टी जोगाउनुपर्ने उनको तर्क नाजायज देखिँदैन । आम सञ्चार र जनसमुदायले पनि उनको कुरोलाई नराम्रो मानेनन् । तर उनको प्रस्तावलाई उनकै पार्टीका नेताहरूले चाहिँ राम्रो मानेनन् । त्यहाँ मेटमणिजस्ता नेता माधव नेपालका मुखैरो हुन् । उनको केही समयअघिको झण्डै साढे पाँच करोडको चेक बाउन्सको उजुरी बीचबाटै अपहरण भएको थियो । त्यसअघि उनले चुच्चे नक्साको चच्चो भाग भारतकै रहेको अभिव्यक्ति दिँदा उनीमाथि कारबाहीको कुरो पार्टी पङ्तिबाटै उठेको बेला स्वयम् माधव नेपालले वाहियात प्रस्ताव भनेर उल्टै हपारेका थिए । त्यसलाई आम नागरिकले चाहिँ ‘जसको–जसको सिता खाई उसैको गीत गाई’ भनेर चित्त बुझाएका थिए । अरुले त्यसरी कुरा उठाएको भए बबाल हुन्थ्यो तर उनै अध्यक्षले नै उठाउन लगाएका रहेछन् क्यारे भन्ने आशंका पनि गर्नुपर्ने अवस्था आयो । त्यस्ता मेटमणिहरू माकुनेको पार्टीमा अरु पनि थुर्पै रहेछन् । अहिले रामकुमारीको प्रसङ्गमा देखियो । उनले मरेको लासको सिनो काँधमा बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिएको भोलिपल्ट अर्थात् असार १५ मा रोपाइँ दिवस परेको थियो । रमाइलो गर्ने चलन चलेको छ । पहिला–पहिला दहीच्युरा खाने चलन थियो तर पछिल्लो समय तत्कालीन कृषिमन्त्री हरि पराजुलीले रोपाइँ कार्यक्रमममा सहभागी एक पार्टी कार्यकता रहेकी सुन्दरीलाई समातेर माडमुड पारेपछि रोपाइँ कार्यक्रममलाई धान दिवसका रुपमा चर्चामा ल्याइएको छ । यस वर्ष पनि त्यस दिन एकीकृत समाजवादीले दागी अध्यक्ष माधव नेपाललाई प्रमुख अतिथि बनाएर तारकेश्वरतिर रोपाइँ कार्यक्रम गरेको थियो र त्यसमा अध्यक्ष नेपालले धानको बीउ बाँडेका थिए । रामकुमारीले कुहिएको गनाउने लास मान्दा एकीकृत समाजवादीले पनि अध्यक्ष नेपाललाई त्यस्तो मानेको भए त्यसरी उनले बाँडेको बीउबाट हुने उब्जनीमै प्रश्न उठ्ने थियो । तर त्यो पार्टी रामकुमारी या अरु नेता कार्यकर्ताका लागि गठन भएको होइनरहेछ । माधव नेपालकै लागि गठन भएको रहेछ भन्ने त्यसै दिन सङ्केत पाइएको हो । त्यस दिन नेपालको हातको बीउ नचल्नुपर्ने थियो, त्यो बीउ दागी बीउ हुनुपर्ने थियो तर पवित्र बीउ मानियो र त्यसको भोलिपल्टदेखि रामकुमारीमाथि कारबाही थालियो । सामाजिक सञ्जालबाट थालिएको कारबाही हारेर पार्टीमा आएको र एमालेमा जान निहुँ खोजेको आरोप पछि स्पष्टीकरणतर्फ मोडियो ।
२०४६ सालको परिवर्तनपछि राजनीतिक सतहमा आएका रहस्यमय पात्र हुन् माधव नेपाल । उनका बारेमा अनेकन प्रसङ्ग जोडिने गरेका छन् । सतहमा देखिएपछि उनले कहिल्यै भरपर्दो कुरो गरेका छैनन् । चुनाव हारे पनि प्रधानमन्त्री बन्ने सौभाग्य पाएपछि उनी के हुन्, को हुन् भन्ने प्रस्टै भएको थियो । त्यसअघि ज्ञानेन्द्रको पाउमा मोहोर दाम चढाउँदा र प्रधानमन्त्री बन्न विन्तीपत्र चढाएपछि २०३६ सालमा पहेँलो मतपत्रमा भोट हाल्न गरेको निर्णयको प्रसङ्ग पनि खुलेको थियो । यी सबै प्रसङ्ग बुझेकी चतुर र आशालाग्दी नेतृ रामकुमारीले त्यसै ख्यालख्यलमै कुहिएको गनाउने लास काँधमा बोकेर हिँड्न नसकिने प्रसङ्ग उठाएकी होइनन् होला । अगाडि केही दिन हेरौँ न, अनि थप छर्लङ्ग होला नै । तर अरु अनैतिक ९२ जनाको कुरोचाहिँ के होला नि ?