काठमाडौं । लोवर मिड रावा खोला हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्राथमिक सेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । खोटाङ जिल्लामा निर्माणाधीन ४ मेगावाट क्षमताको लोवर मिड रावा खोला हाइड्रोपावरले १० करोड रुपैयाँबराबरको एक सय रुपैयाँ अंकित दरको १० लाख कित्ता प्राथमिक सेयर निष्काशन गर्नको लागि सोमबार आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड तथा लोवर मिड रावा खोला हाइड्रोपावर प्रोजेक्ट लिमिटेडबीच सम्झौता भएको हो ।
सर्वसाधारणमा सेयर जारी गर्नको लागि प्राथमिक सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । सो सम्झौतापत्रमा हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष शम्भुप्रसाद घिमिरे र मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित संस्था हो ।