काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोले अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पु¥याएको जनाएको छ । नाडाले एक विज्ञप्ति जारी गरी बाढी तथा पहिरोका कारण मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका—केरुङ र रसुवागढीमार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पुर्याएको जानकारी दिएको हो । बाढी पहिरोले भन्सार परिसरमा रहेका निर्माणाधीन सुख्खा बन्दरगाह, पार्किङमा रहेका कन्टेनरहरू समेत बगाएको छ । ‘यस कठिन घडीमा हामी सम्पूर्ण पीडितहरूप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छौँ । आफ्नो घर, व्यवसाय र जीवनयापन गुमाउनु परेको पीडा अवर्णनीय छ र हामी त्यसमा गहिरो सहानुभूति प्रकट गर्दछौँ’, नाडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, हरेक कठिन घडीहरूमा अटोमोबाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूको साथमा नाडा सधैँ रहँदै आएको उल्लेख छ । पीडितहरूको हिम्मत, धैर्यता र पुनःस्थापनाका प्रयासमा ऐक्यबद्धता जनाउँदै नाडाले यस विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने जानकारी गराउन पनि आग्रह गरेको छ ।