चितवन । चितवनमा त्रिशुली तथा कालिगण्डकीको शिरमा वर्षा भएर बाढीको जोखिम हुने भन्दै अलर्ट हुन सर्वसाधारणलाई अनुरोध गरिएको छ । गएराति भारी वर्षा भएको र पानीको मुहान तर्फ पनि वर्षात भएको भन्दै नारायणी नदी किनार तथा यसको आसपासमा माइकिङ गर्दै सर्वसाधारणलाई सचेत गराइएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले नारायणी नदी किनारमा राखिएका ठेलाका व्यापार, मनोरञ्जनका लागि राखिएको मोटर वोर्ड सबैलाई हटाएर अहिले खाली बनाएको बताए । मङगलबार विहान रसुवा र साँझ मुस्ताङमा आएको बाढीको प्रभाव चितवनमा पर्ने भन्दै नदी तटीय क्षेत्रमा सचेतना फैलाइएको हो ।
हामीले हिजोदेखि आज पनि नदी वरपरका स्थानीय बासिन्दालाई सचेत रहन सूचना गरेको खनालले जानकारी दिए । सर्तकता आपनाएपछि सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ भन्दै जानकारी गराएको उनले बताए ।
जिल्ला प्रशासन कर्यालयले भारी वर्षाका कारण हुन सक्ने बाढी पहिरो र अन्य क्षतिको जोखिम देखिएमा तुरून्त नजिकको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोल १०० वा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको फोन ९८४४२०८८८८ मा जानकारी गराउन आग्रह गरेको छ ।