काठमाडौं । विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड सङ्गठन (आईएसओ) को प्रमाणपत्र प्राप्त गरेको छ । न्यायिक प्रणाली जवाफदेहिता, दिगोपना र प्रशासनिक सुधारमा चुस्त देखिएको भनी उक्त प्रमाणपत्र दिइएको हो ।
अदालतका अध्यक्ष टेकनारायण कुँवरले उक्त प्रमाणपत्र (यानएस/आईएसओ ९००१ः२०१५) को बुधबार विशेष अदालतमा आयोजित कार्यक्रममा सार्वजनिक गरेका थिए । न्यायिक तथा प्रशासनिक प्रक्रियामा उच्चतम इमान्दारिता, जवाफदेहिता र सार्वजनिक विश्वास कायम राख्न प्रयत्न गरिरहेकाले आईएसओको प्रमाणपत्र प्राप्त गर्न सफल भएको उनले जानकारी दिए । विशेष अदालत आईएसओको प्रमाणपत्र पाउने नेपालकै पहिलो अदालत भएको उनले बताए । कार्यक्रममा अध्यक्ष कुँवरले अदालतको अभिलेख प्रणालीलाई आधुनिकीकरणको मार्गमा अगाडि बढाएर कागजविहीन बनाउने, ‘डिजिटल रेकर्डिङ’ प्रणाली र भर्चुअल सुनुवाइमार्फत न्यायमा सहज पहुँचमा ध्यान दिइरहेको बताए ।
उनका अनुसार आर्थिक वर्ष २०८१/८२ को असार २५ गतेसम्म अदालतले कूल दुई सय छमध्ये एक सय २३ थान मुद्दा फछ्र्यौट गरेको छ भने ८३ बाँकी छन् । विशेष अदालतको विगत पाँच वर्षको मुद्दाको तथ्याङ्कलाई अध्ययन गर्दा सबैभन्दा बढी आव २०८०/८१ मा मुद्दा फछ्र्यौट भएको छ । उक्त आवमा ५७५ मध्ये पाँच सय छ मुद्दा फछ्र्यौट भएको थियो ।