काठमाडौं । प्राविधिक शिक्षा भनेको मानवजीवनलाई आवश्यक पर्ने भौतिक सुविधाहरू विज्ञानका साथै विभिन्न प्रविधिबाट उत्पादन र उत्पादकत्व वृद्धि गरेर भौतिक तथा सामाजिक आवश्यकता परिपूर्ति गर्ने शिक्षा हो । व्यावसायिक सीपलाई भन्दा डिग्रीलाई बढी मान्यता दिने हाम्रो समाजमा प्राविधिक धारभन्दा अप्राविधिक धारतर्फ विद्यार्थीको आकर्षण बढेको पाइन्छ । विकसित देशहरूमा एसईईपश्चात् ८० प्रतिशत प्राविधिक धारको शिक्षा लिन्छन् । नेपालमा मुस्किलले २० प्रतिशतले मात्र प्राविधिक धारको शिक्षा लिन्छन् । अन्य धारतर्फ अध्ययनमा लागेका विद्यार्थीले विभिन्न कारणले बीचैमा पढाइ छोडेको कारणबाट बेरोजगार हुनेगरेका छन् । प्राविधिक शिक्षाको महत्व नबुझेको कारणबाट देशमा अदक्ष जनशक्तिको संख्या बढ्नु स्वाभाविकै हो ।
हाम्रो शिक्षा गरीखानेभन्दा पनि मागीखाने जनशक्ति उत्पादनतिर लक्षित भएको गुनासो सत्यताको नजिक पाइन्छ । समयको मागअनुसार देश तथा विदेशका श्रमबजारमा खरो प्रतिस्पर्धा गर्नसक्ने सक्षम जनशक्ति आजको आवश्यकता हो । रोजगारीका लागि भौतारिनेभन्दा पनि रोजगारी सिर्जना गर्नसक्ने प्रतिभाशाली जनशक्ति उत्पादन गर्ने शिक्षाले मात्र बेरोजगारी समस्याको हल गर्न सक्छ । प्राविधिक शिक्षाले रोजगारका अवसरहरू प्राप्त गर्न सहजता प्रदान गर्छ । तर कुन क्षेत्रको कस्ता प्राविधिक कति चाहिन्छ भन्ने भविष्यदर्शी योजनाको अभाव र हचुवाको भरमा कार्यक्रम ल्याउने प्रवृत्तिको कारणले पनि आवश्यक प्राविधिक जनशक्तिको अभाव खड्किएको छ । विद्यालय शिक्षा पार गरेका नवयुवाहरूलाई भविष्यको शैक्षिक यात्राको सही मार्गदर्शन दिन नसकेमा त्यसको नकारात्मक असर परिवार, समाजदेखि देशले नै भोग्नुपर्ने हुन्छ । समृद्धिको यात्रामा सफलता हासिल गर्न व्यावहारिक प्राविधिक शिक्षा आजको खाँचो हो ।
साधारण शिक्षा मात्र अध्ययन गर्ने प्रवृत्तिको कारण देशमा बेरोजगारीको विकराल समस्या बन्दै गएको परिवेशमा सीपमूलक गुणस्तरीय प्राविधिक शिक्षा समस्या समाधानका लागि बरदान साबित हुन सक्छ । अहिले पनि झन्डै ५५ लाखको हाराहारीमा वैदेशिक रोजगारीमा भएका युवाहरूले पठाएको रेमिट्यान्सले अर्थ तन्त्र धान्न विवश हाम्रो देशमा जीवनोपयोगी पौरखी प्राविधिक शिक्षा अपरिहार्य भइसकेको छ । वैदेशिक रोजगारमा जाने युवाहरूलाई पनि त्यहाँको मागअनुसार सीपमूलक तालिम दिएर पठाउन सके उनीहरूको कमाइमा उल्लेख्य वृद्धि गर्न सकिन्छ । मुलुकको समृद्धिको लागि दक्ष जनशक्तिको आवश्यकता पर्छ । नेपालमा अहिले पनि प्राविधिक जनशक्तिको उत्पादन न्यून छ । देशको आवश्यकताको लागि मात्रै नभएर ठूलो संख्यामा वैदेशिक रोजगारीमा जाने युवाहरूको आय–आर्जनमा समेत वृद्धि गर्न योजनाबद्ध प्राविधिक शिक्षा आजको आवश्यकता हो । रोजगारी दिनसक्ने सिर्जनात्मक तागत भएको जनशक्ति उत्पादन गर्ने राज्यको शिक्षा नीति हुनुपर्छ ।
प्रत्येक वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई)बाट करिब पाँच लाख परीक्षार्थी उत्तीर्ण हुने गर्छन् । उनीहरूलाई भविष्यको शैक्षिक यात्राको लागि मुख्यतया प्राविधिक र साधारण शिक्षामध्ये छनौट गर्नुपर्ने हुन्छ । धेरै लगानी गरेर लामो समयसम्म अध्ययन अनुसन्धान तहसम्मको लागि साधारण शिक्षा रोज्नु स्वाभाविकै हो । आफ्नो योग्यता, क्षमता र आर्थिक हैसियतको ख्यालै नगरी उच्च शिक्षाको विषय र बाटो रोज्दा भविष्य अलपत्र परेका उदाहरण बग्रेल्ती पाइन्छ । हाम्रो जस्तो विकासोन्मुख देशमा मध्यमस्तरीय सीप भएका प्राविधिक जनशक्ति प्रशस्त आवश्यक पर्छ । एसईई पार गरेका परीक्षार्थीको लागि विभिन्न क्षेत्रमा स्वरोजगार बन्ने अवसर प्रदान गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले विविध क्षेत्रमा अध्ययन र तालिमको अवसर प्रदान गर्दै आएको छ । एसईई परीक्षा उत्तीर्ण टीएसईई र डिप्लोमा गरी करिब ४५ हजारभन्दा बढीले सीटीईभीटीअन्तर्गत देशका विभिन्न क्षेत्रमा छरिएर बसेका शिक्षण संस्थामार्फत प्राविधिक शिक्षाको अध्ययन गर्ने अवसर छ । सीटीईभीटीअन्तर्गतका तीन सय ३१ संस्थाबाट विभिन्न प्राविधिक क्षेत्रमा १८ हजार विद्यार्थीले डिप्लोमा कोर्स अध्ययन गर्न पाउने सुविधा प्रदान गरेको छ । त्यस्तै दुई सय ८० सम्बन्धनप्राप्त निजी संस्थाले पनि विभिन्न प्राविधिक कोर्सहरू सञ्चालन गरे पनि पर्याप्त देखिएको छैन ।
हाम्रो जस्तो भौगोलिक विकटता र सामाजिक आर्थिक विभिन्नता भएको देशमा गुणस्तरीय प्राविधिक शिक्षामा सहज पहुँचको सुनिश्चितताको लागि सरकारले विशेष ध्यान दिन विलम्ब भइसकेको छ । विगत वर्षहरूमा साधारण शिक्षामा मात्र जोड दिँदा शिक्षण संस्था शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा चित्रित भएका थिए । तर पछि विद्यालय तहदेखि नै प्राविधिक धारका आधारभूत ज्ञान र सीप प्रदान गर्ने समयानुकूल सकारात्मक नीति राज्यले लिएको पाइन्छ ।
शिक्षालाई गुणस्तरीय जनमुखी, प्रगतिशील जीवनोपयोगी आदि विशेषणबाट सम्बोधन गरिएको पाइन्छ । गुणस्तर प्राप्तांकको आधारमा निर्क्योल गर्ने प्रचलन प्रशस्तै छ । जसको कारणबाट आमाबुबाको अर्थ नबुझ्ने तर ‘ड्याडमम’को संस्कारमा हुर्कने, फाली, करुवा, दाँते आदिको बारेमा जानकारी नहुने सैद्धान्तिक ज्ञान मात्र भएको तर अल्पव्यवहारिक ज्ञान भएका नागरिकभन्दा आफ्नो परिवेशलाई समेत साक्षात्कार गर्ने÷गराउने, गरेर सिक्ने खालको शिक्षाको अवलम्बन गरिनु पर्छ । शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ । माछा मारेर खुवाउनेभन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षाको खाँचो छ । अतः दैनिक जीवनमा प्रयोग गर्ने विषय र विधि सिकाउने खालको शिक्षा हुनुपर्छ । कुनै व्यक्तिको प्रमाणपत्रको प्राप्तांकभन्दा पनि उसले देखाउने बानी, व्यवहार, चालचलन, चरित्रको आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्छ ।
हाम्रो मूल्यांकन पद्धति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ । किनकि एक सय पूर्णांकमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्धतिलाई पुनरावलोकन गरिनुपर्छ । त्यस प्रकारको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अंक मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन अनुसन्धानले पुष्टि गरेको छ । कतिपय विषयमा पूर्णांक प्राप्त गर्नु आठौँ आश्चर्य भएको छ । अर्कोतर्फ कतिपय विशिष्ट श्रेणीमा उत्तीर्ण भएकाहरू जसलाई उच्च गुणस्तर भनिन्छ, उनीहरूको अपेक्षाकृत व्यवहार सकारात्मक भएको देखिन्न । त्यस कारण सिर्जनशील लगनशील प्रतिस्पर्धी उत्साही, ऊर्जाशील सफल नागरिक बनाउने खालको व्यावहारिक शिक्षा आजको आवश्यकता हो । जसअनुसार श्रमप्रति सम्मान जगाउने धारणाको विकास गराउनुपर्र्छ । पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्धतिलाई विद्यार्थीकेन्द्रित गरिनुपर्छ । त्यस्तै विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्धति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्छ । पौरखी नागरिक बन्ने अभ्यास विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिइनु पर्छ । साथै उनीहरूको पारिवारिक, आर्थिक, सामाजिक सांस्कृतिक मूल्यमान्यता संस्कार एवं भावना आदिलाई मध्यनजर राखेर शैक्षिक नीति तर्जुमा गरिनुपर्छ । राज्यले तोकेको पाठयक्रमको अतिरिक्त तीव्र गतिमा परिवर्तन आएको विज्ञान र प्रविधिलाई विद्यालयमा प्रवेश गराउनुपर्छ । जसले विद्यार्थीलाई भविष्यमा स्वरोजगार भई बाँँच्न प्रेरिरित गर्न सकोस् ।
दिनप्रतिदिन ऊर्जाशील युवा जनशक्ति रोजगारीका लागि विदेशिनु देशको लागि कदापि शुभ संकेत होइन । रोजगारीको लागि नेपाली युवाहरू भौतारिँदै कस्तुरीले आफूमा भएको सुगन्धित बिनाको ज्ञान नभएर कहाँबाट बास्ना आयो भन्दै भौतारिंएर हिँडेजस्तै मृगतृष्णाको रुपमा आफ्नै देशमा उपलब्ध पेसा अँगाल्न हिच्किचाउँदै हजारौँ, लाखौँ रुपैयाँ खर्च गरेर खाडी मुलुकको प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलफूल खेती, भेडा चराउने, गधा जोत्नेजस्ता कृषिजन्य काम गर्न तँछाडमछाडका साथ पुगेका छन् । अर्कोतर्फ छिमेकी देशहरूबाट रोजगारीका लागि नेपाल आएर फलफूल तरकारी र अन्य सामान बेच्न सहरबजारमा मात्र नभएर विकट गाउँमा पनि छ्यापछ्याप्ती पुगेको पाइन्छ। तर गर्वका साथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन् ? त्योभन्दा तल्लो स्तरको काम गर्न मुगलान नै पस्नुपर्ने किन ? यस्तो मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला ? आफ्नो देशमा रोजगारी नपाएमा चारैतिर अभावै अभावबाट छटपटीई निराश भई विरक्तिएर विदेशिएका नेपाली झन् कष्टकर, अमानवीय व्यवहार सहन बाध्य भएर विचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ । यसरी तावाबाट उम्केको माछा भुङ्ग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराइमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले विदेशिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नुपर्ला ? आदि प्रश्नको विश्लेषणबाट सार्थक निष्कर्षमा पुग्न विलम्ब गर्नु हुँदैन ।