काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले यही असार ३२ गतेदेखि १० वर्ष अवधिको वार्षिक आठ प्रतिशत ब्याजदरमा ‘शाइन रेसुङ्गा डिबेन्चर’ निष्काशन गर्न लागेको हो ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका एक अर्ब रुपैयाँबराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये ६० प्रतिशत अर्थात् ६० करोड रुपैयाँबराबरको छ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँबराबरको चार लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गर्न लागेको बैंकले जानकारी दिएको छ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा पाँच लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा साउन ४ गते हुनेछ भने ढिलोमा साउन १४ गते हुनेछ ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।