काठमाडौं । हिमालयन बैंक लिमिटेडले एफपीओ बिक्री गर्ने भएको छ । बैंकका अनुसार यही असार ३२ गतेबाट थप सार्वजनिक निष्काशन अर्थात् फर्दर पब्लिक इस्यु (एफपीओ) गर्न लागिएको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने भएकोले बैंकले एफपीओ जारी गर्न लागेको बैंकले जानकारी दिएको छ ।
बैंकको कुल चुक्ता पुँजी हाल २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार छ सय ३१ रुपैयाँ रहेको छ । जसमध्ये ७२ दशमलव ९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७ दशमलव एक प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ । अब सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले एक अर्ब ४५ करोड २३ लाख २३ हजार छ सय ३३ रुपैयाँबराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ थप गरी जम्मा एक सय ५७ रुपैयाँमा ९२ लाख ५० हजार चार सय ६९ कित्ता थप सार्वजनिक निष्काशन गर्न लागेको हो ।
बैंकका अनुसार उक्त एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा साउन चार गते हुनेछ । सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असार १४ गतेसम्म लम्बिनेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । एफपीओ निष्काशनपश्चात् बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार पाँच सय ३१ रुपैयाँ ९० पैसा पुग्नेछ ।