काठमाडौं । ‘ग्लोबल आइएमई समुन्नत योजना २’को एकाइ खरिदको अवधि थप भएको छ । ग्लोबल आइएमई क्यापिटल क्यापिटल लिमिटेडले असार २२ गतेदेखि निष्काशनमा ल्याएको सामूहिक लगानी कोष ग्लोबल आइएमई समुन्नत योजना २को एकाइ खरिदका लागि आवेदन दिने अवधि साउन ४ गतेसम्म थप गरेको हो ।
क्यापिटलले प्रतिएकाइ १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँबराबरको १२ करोड एकाइ बिक्रीमा ल्याएको हो । ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सो योजना १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो । निष्काशन गरिएको कुल १२ करोड एकाइको १५ प्रतिशत एकाइमध्ये एक दशमलव पाँच प्रतिशत अर्थात् १८ लाख एकाइ योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई र १३ दशमलव ५० प्रतिशत अर्थात् एक करोड ६२ लाख एकाइ बीज पुँजीको रूपमा राखी बाँकी रहेको १० करोड २० लाख एकाइ सर्वसाधरणलाई बिक्री गरेको हो । उक्त योजनमा न्यूनतम एक सयदेखि एक करोड २० लाख एकाइसम्म आवेदन दिन पाउने व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ ।
योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । उक्त योजनाको एकाइमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । यसका साथै सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।