रसुवा,रसुवामा आएको विनाशकारी बाढीपछि क्षति मूल्यांकन गर्न १३ सदस्यीय समिति गठन गरिएको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा तथा विपद् व्यवस्थापन समितिको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।
गल्छी–त्रिशूली–रसुवागढी सडक आयोजनाका प्रमुख ई. खड्गलाल श्रेष्ठको संयोजकत्वमा गठन भएको समितिलाई बाढी प्रभावित क्षेत्रमा भौतिक संरचनामा भएको क्षतिको प्रारम्भिक विवरण संकलन गरी चाँडै प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
समितिमा भन्सार, विद्युत, टेलिकम, जलविद्युत, निर्माण आयोजना, स्थानीय तह, यातायात, व्यापार संघका प्रतिनिधिसहित सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारी सदस्य सचिवको भूमिकामा छन्। बैठकले समितिलाई आवश्यक समन्वय, निर्देशन र सहयोग गर्ने निर्णय समेत गरेको छ।