काठमाडौ । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२औँ वार्षिक साधारणसभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे परिसंघको विधानअनुरूप स्वतः अध्यक्षमा चयन भएका हुन् ।
एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरेका पाण्डे २०७५ देखि परिसंघको उपाध्यक्ष बनेका थिए । काठमाडौंमा जन्मिएका पाण्डे तीन दशकदेखि निरन्तर निर्माण उद्योगमा आबद्ध छन् । सिभिल इन्जिनियरिङ, आवास र सहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दख्खल राख्ने पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुन् । उनी हरित सामग्री निर्माण, कृषि तथा शिक्षा क्षेत्रमा समेत सक्रिय छन् । परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष पाण्डेलाई सपथ ग्रहण गराउँँदै पदभार हस्तान्तरण गरेका छन् ।
परिसंघको वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी चयन भएका छन् । यसैगरी, उपाध्यक्षहरूमा राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे र गोकुल भण्डारी चयन भए । राजधानीमा बुधबार सम्पन्न साधारणसभाबाट निर्वाचित राष्ट्रिय परिषद् सदस्यहरूबाट सर्वसम्मतरूपमा उनीहरूलाई उपाध्यक्ष चयन गरिएको हो । साधारणसभाले परिसंघको राष्ट्रिय परिषद् सदस्यमा गोपाल कुमार अग्रवाल, मिलन बाबु मल्ल, परासी अग्रवाल, राहुल कुमार अग्रवाल, वरुण कुमार तोदी, दिपक कुमार अग्रवाल, रोहित गुप्ता, हितेश गोल्छा, अमित मोर, आश्रयता कार्की, निर्वाण कुमार चौधरी, आकाश गोल्छा, विकास दुगड, विक्रम सिंघानिया, अमित कुमार बेगानी, गौरव शारडा, दिलिप अग्रवाल, यश अग्रवाल, सन्दिप शारडा, राजीव गुप्ता निर्वाचित गरेको छ ।
यसैगरी, सञ्जीव न्यौपाने, हेमराज ढकाल, अनुराग गोयल, द्रुव रिजाल, सञ्जय गोल्छा, वर्षा श्रेष्ठ, राज बहादुर शाह, विदुषी राणा, लक्ष्मी प्रसाद सुवेदी, आशीष जजोडिया, पम्फा धमला, मनिष कुमार खेम्का, आशीष गर्ग, सेवा पाठक पनि सदस्यमा निर्वाचित भए । यस्तै, गोकुल भण्डारी, बसन्त बहादुर चन्द र चन्द्र टण्डन पनि सदस्यमा निर्वाचित भएका छन् । यसैगरी, कोशी प्रदेशबाट निवर्तमान अध्यक्ष भीम घिमिरे, मधेश प्रदेशका अध्यक्ष प्रमोद साह, बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, गण्डकी प्रदेशबाट अध्यक्ष विनोद न्यौपाने, लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, कर्णाली प्रदेशका अध्यक्ष छत्र शाही र सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमणचन्द्र श्रेष्ठ राष्ट्रिय परिषद् सदस्य बनेका छन् ।
यस्तै, मकवानपुर उद्योग संघका अध्यक्ष बद्रीनाथ शर्मा, चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरे, नवलपुर उद्योग संघका अध्यक्ष केबी राना, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा र पोखरा औद्योगिक क्षेत्र उद्योग संघबाट रुद्र श्रेष्ठ पदेन राष्ट्रिय परिषद सदस्य रहेका छन् । यसैगरी, परिसंघको स्थायी आमन्त्रित सदस्यमा सन्दिप शारडा, विदूषी राणा र प्राची अग्रवाल मनोनित भएका छन् । नवनिर्वाचत अध्यक्ष वीरेन्द्रराज पाण्डेले उपाध्यक्ष एवं राष्ट्रिय परिषद् सदस्यहरूलाई सपथ ग्रहण गराएका थिए ।
उद्योगी तथा उद्योगहरू सम्मानित
परिसंघले साधारणसभाको अवसर पारेर उद्योगी तथा उद्योगहरूलाई सम्मान गरेको छ । मंगलबार आयोजित साधारणसभा समुद्घाटन समारोहमा परिसंघले सीएनआई प्रेसिडेन्ट अवार्डबाट पूर्वअध्यक्ष एवं प्रतिष्ठित उद्योगी सतीस कुमार मोरलाई सम्मान गरेको हो ।
यस्तै, परिसंघले निर्यातमा योगदान गर्ने संस्था तथा कम्पनीलाई विभिन्न अवार्ड प्रदान गरेको छ । साफ्टाअन्तर्गत हुने निर्यातमा योगदान दिने आरएमसी फुडस् प्रालि, गणपति वनस्पति लिमिटेड, नारायणी वेल रिभाइनरी उद्योग प्रालि सम्मानित भएका छन् । यसैगरी, तेस्रो मुलुकतर्फ निर्यातमा योगदान दिने नेपाल एक्प्रेस पार्सल एन्ड लजिस्टिक प्रालि, एसेन्ट् एक्र्पोट्स प्रालि, स्मुथ कार्गो मुभरर्स प्रालि सम्मानित भएका छन् । यस्तै, इन्डो नेपालअन्तर्गत हुने निर्यातमा योगदान दिने आरती स्ट्रिप्स प्रालि, रिलायन्स स्पिनिङ मिल्स् लिमिटेड र शिवम् प्लास्टिक इन्डस्ट्रिज लिमिटेड सम्मानित भएका छन् ।
यसैगरी, सबैभन्दा सक्रिय राष्ट्रिय परिषद् सदस्य अवार्ड गोपाल अग्रवाल, परिसंघअन्तर्गतका समिति, परिषद्, मञ्चमध्येबाट सबैभन्दा सक्रिय समिति अवार्ड सूचना प्रविधि परिषद्ले प्राप्त गरेका छन् । यसैगरी सबैभन्दा सक्रिय प्रदेश परिसंघको अवार्ड बागमती उद्योग परिसंघ र सर्वोत्कृष्ट कर्मचारीको अवार्ड निर्देशक हिमाल पौडेलले प्राप्त गरे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्मानित व्यक्ति तथा संस्थाहरूलाई अवार्ड प्रदान गरेका थिए ।