नयाँदिल्ली । गुजरातको वडोदरामा रहेको महिसागर नदीमाथिको पुल बुधबार बिहान भत्किएको छ । दुर्घटना हुँदा सवारी साधनहरू पुलबाट तर्दै थिए । पुल भत्किँदा दुई ट्रक, दुई कार र एउटा रिक्सासहित पाँचवटा सवारीसाधन नदीमा खसे । एउटा ट्यांकर भाँचिएको छेउमा अड्किएको थियो ।
दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने आठ जनालाई स्थानीय जनताले उद्धार गरेका छन् । दुई जना बेपत्ता भएका छन् । यो ४५ वर्ष पुरानो पुलले दक्षिण गुजरातलाई सौराष्ट्रसँग जोडेको छ ।
पुल भत्किँदा दक्षिण गुजरातका भरुच, सुरत, नवसारी, तापी र वलसाडजस्ता सहरहरूबाट सौराष्ट्र पुग्न बढी समय लाग्नेछ । अब यसका लागि अहमदाबाद हुँदै लामो बाटो रोज्नुपर्नेछ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री राष्ट्रिय राहत कोष (पीएमएनएफआर)बाट मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन् ।
४५ वर्ष पुरानो यो पुल मर्मत गर्न स्थानीयहरुले प्रशासनलाई धेरै पटक जानकारी गराएका थिए । प्रशासनले कुनै कारबाही नगरेका कारण दुर्घटना भएको स्थानीयहरुको आरोप छ । स्थानीय मानिसहरूले यो दुर्घटनाको लागि प्रशासन पूर्णरूपमा जिम्मेवार रहेको आरोप लगाएका छन् ।