काठमाडौं, संघीय संसद भवनभित्र खसेको ड्रोन राजधानीको एक कलेजका विद्यार्थीले परीक्षणका लागि उडाएको भएको खुलेको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१० सुवर्णमार्गस्थित टेकस्पायर कलेजका ब्याचलर अफ साइन्स इन आईटी (BSc IT) का विद्यार्थीहरूले निर्माण गरेको ड्रोन थ्रस्ट टेस्ट गर्ने क्रममा नियन्त्रण बाहिर गएर संसद भवनको परिसरमा खसेको हो। जीपीएस सिग्नल विच्छेद भएपछि ड्रोनको दिशा अनियन्त्रित बनेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ। घटनापछि प्रहरीले कलेजसँग उपकरण खरिद बिल, निर्माणको तस्बिर र भिडियो समेत संकलन गरेको जनाएको छ। गत मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद रामहरि खतिवडाले संसद भवनमा ड्रोन खसेको विषय उठाउँदै यसलाई गम्भीर रूपमा लिन सरकारलाई आग्रह गरेका थिए। अन्तर्राष्ट्रिय स्तरमा ड्रोनको दुरुपयोग हुँदै आएको प्रसंग जोड्दै उनले सुरक्षा चुनौतीको संकेत दिएका थिए। हाल प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।