काठमाडौं,स्वास्थ्य बीमा बोर्डमा करार सेवाका लागि छनोटमा परेका ११० जना मेडिकल अधिकृतले कार्य विवरणप्रति असन्तुष्टि जनाउँदै नियुक्ति पत्र लिन अस्वीकार गरेका छन्।बोर्डले गत १८ जेठमा तीन महिनाका लागि १८० मेडिकल अधिकृत आवश्यक परेको सूचना प्रकाशित गरेको थियो। आवेदन, छनोट र तालिमसमेत पूरा गरिसकेका अधिकृतहरूले कार्य विवरणमा रहेको ‘अव्यावहारिक लक्ष्य’ र ‘श्रम अधिकारविपरीतका सर्त’ प्रति गम्भीर आपत्ति जनाएका हुन्।
उनीहरूले कार्य विवरणको बुँदा ११ अनुसार दैनिक ४०० दाबी मूल्यांकन गर्नुपर्ने लक्ष्यलाई "प्रयोगमा असम्भव" भनेका छन्। साथै, लक्ष्य पूरा गरेपछि थप ४ घण्टासम्म ओभरटाइम गर्न सकिने व्यवस्था पनि श्रमिक हकविपरीत भएको भन्दै असन्तुष्टि जनाएका छन्।
एक मेडिकल अधिकृतले भने, “दैनिक ७ घण्टा काम गरेर अधिकतम १५० केस हेर्न सकिन्छ, ४०० हेर्नु भनेको एक मिनेटमा एउटा केस सक्नु जस्तै हो।”स्वास्थ्य मन्त्रालयमा यस विषयमा जानकारी गराइएको पनि उनीहरूले बताएका छन्।
यता, स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्ल ठकुरीले भने तोकिएको लक्ष्य अवैज्ञानिक नरहेको दाबी गरेका छन्। उनका अनुसार, हाल कार्यरत जनशक्तिले दैनिक ६०० केससम्म समीक्षा गरिरहेको र अहिलेसम्म ७० जनाले मात्रै नियुक्ति पत्र लिएको जानकारी दिए। उनका अनुसार आज अन्तिम म्याद रहेको र नियुक्ति नलिनेहरूले अवसर गुमाउने तथा वैकल्पिक उम्मेदवारले सो अवसर पाउनेछन्।