काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका संघीय अस्पतालहरूलाई आफ्ना उपकरणको अडिट गर्न अनिवार्य गरेको छ। अस्पतालमा भएका उपकरणको अवस्था स्पष्ट नभएको भन्दै औपचारिक लेखापरीक्षण प्रक्रिया सुरु गर्न लागिएको हो। मन्त्रालयले उपकरणको विवरण संकलन गरी बिग्रिएका तर मर्मत गर्न सकिने साधनको पहिचान गर्न निर्देशन दिएको छ। केही अस्पतालमा सामान्य मर्मतले चल्ने उपकरणहरू वर्षौं थन्किएको पाइएपछि यस्तो निर्णय गरिएको हो। राष्ट्रिय आविष्कार केन्द्रमार्फत हालै गरिएको अध्ययनमा झन्डै २४ करोड मूल्यका उपकरणहरू २३ लाखमै मर्मत गरिएको विवरण सार्वजनिक भएको छ। अब अडिट प्रणाली लागू भएपछि उपकरणको मर्मत, सुरक्षा र उपयोगको अभिलेख व्यवस्थित हुने विश्वास मन्त्रालयले लिएको छ।