काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रमा राजनीति नगर्न खेलकुदमन्त्री तेजुलाल चौधरीलाई स्पष्ट सन्देश दिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा स्पोर्टस् साइन्स ल्याबको उद्घाटन समारोहमा ओलीले खेललाई ‘पोलिटिक्स-फ्री’ राख्नुपर्ने धारणा राखे। “सरकारमा राजनीति हुन्छ, तर खेलमा होइन,” उनले भने, “खेल क्षेत्रको नेतृत्वमा आएपछि खेलको विकासमा मात्र ध्यान दिनुपर्छ। त्यहाँ राजनीति गर्ने स्पेस छैन।”खेलकुदमन्त्री चौधरीमाथि नेपाल प्रिमियर लिग (एनपीएल) भाँड्ने प्रयासको आरोप लागिरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो टिप्पणी आएको हो। कार्यक्रममा चौधरी स्वयं पनि उपस्थित थिए। प्रधानमन्त्री ओलीले एनपीएललाई राष्ट्रिय गौरवको रूपमा अगाडि बढाउनुपर्ने बताए। यद्यपि बोल्दाबोल्दै एनपीएललाई गल्तीले ‘वाईपीएल’ भनेका उनी पछि फेरि सुधार गर्दै बोले।“एनपीएल खेलिनुपर्छ, तयारी गर्नुपर्छ,” उनले भने, “क्रिकेटजस्तै यसको क्रेज पनि देशभर फैलिनुपर्छ।” त्यस्तै, ओलीले कीर्तिपुर रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाइने बताउँदै अहिलेको निर्माणलाई पहिलो चरण मात्र भएको र दोस्रो चरणमा भव्य विस्तार गरिने जानकारी दिए।