काठमाडौं,रास्वपा उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले दोस्रो स्टक एक्सचेन्जको निर्णयप्रति कडा आपत्ति जनाउँदै त्यसलाई “प्रिपेड करप्सन” को संज्ञा दिएका छन्। उनले आफू अर्थसमितिमा उत्साहपूर्वक प्रवेश गरे पनि कात्तिक २४ गतेको निर्णयपछि मोहभंग भएको स्पष्ट पारे। “त्यो दिन मेरो सातो गयो,” वाग्लेले भने, “अहिलेसम्म फर्केर आएको छैन।” उनले उक्त निर्णयमा नोट अफ डिसेन्ट राखेको स्मरण गराउँदै भने, “समितिमा सर्वसम्मत रुपमा दोस्रो स्टक एक्सचेन्जको अनुमति दिइयो, तर त्यसको शैली र उद्देश्यप्रति म असहमत थिएँ।” वाग्लेले पूर्व अर्थमन्त्री युवराज खतिवडाले समेत “यो गेम प्रिपेड करप्सन हो” भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै विषयको गम्भीरता औंल्याए। उनको भनाइ अनुसार, नीति संवाद र संसदका छलफलमा उठाइएका सल्लाहहरू उपेक्षा गरेर गरिएको निर्णयले अर्थतन्त्रमा अनिश्चय र असहजता बढाएको छ।