काठमाडौं, पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले नेपालमा नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहेको बताएका छन्।अर्थसमितिको बैठकमा बोलेका पुनले “नेप्से सुधार गर्नेतर्फ ध्यान दिनुपर्ने” धारणा राख्दै सरकारी लगानी धरापमा पारेर निजी क्षेत्रलाई बजार सञ्चालनको अनुमति दिनु आत्मघाती हुने चेतावनी दिए। उनले भने, “अहिले नेप्से हुँदाहुँदै अर्को स्टक एक्सचेन्ज किन चाहियो? यसलाई नै सुधार गरौं, ५१% निजीलाई दिएर पनि परीक्षण गरौं, त्यसपछि मात्र सोचौं।”नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफैं लगानी गरेको कम्पनीलाई आईपीओ स्वीकृति दिएको विषयमा पनि पुनले गम्भीर प्रश्न उठाए। उनको भनाइमा, सरकार आफैंलाई जोखिममा राखेर निजी क्षेत्रलाई पोस्ने निर्णय अलोकतान्त्रिक र संवेदनशील क्षेत्रको दुरुपयोग हुने खतरा रहेको छ।