रौतहट, रौतहटको बहुचर्चित विस्फोट र जिउँदै जलाइएको हत्या प्रकरणमा सफाइ पाएका नेपाली कांग्रेस नेता अफताब आलमविरुद्ध सरकार सर्वोच्च अदालत जाने तयारीमा जुटेको छ।उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जको फैसलाविरुद्ध पुनरावेदन गर्ने निर्णय भएको सहन्यायाधिवक्ता सूर्यराज दाहालले पुष्टि गरेका छन्। शुक्रबार नभए आइतबारसम्म पुनरावेदन दर्ता गर्ने तयारी गरिएको छ।
२०६४ साल चैत २७ गते, संविधानसभा निर्वाचनको अघिल्लो दिन भएको विस्फोटमा घाइते भएकाहरूलाई ईंटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा जिल्ला अदालतले जन्मकैद सुनाए पनि उच्च अदालतले सफाइ दिएको थियो।
अफताब आलमसहित चार जनालाई दोषी ठहर गर्दै जिल्ला अदालत रौतहटले जन्मकैदको फैसला सुनाएको थियो। तर उच्च अदालत जनकपुरले उक्त फैसला उल्टाउँदै सबैलाई सफाइ दिएको थियो।
न्यायाधीशद्वय धनपति थारु र नगेन्द्रराज महर्जनको उक्त फैसलाविरुद्ध पीडित परिवारले उजुरी दिएपछि, न्याय परिषद्ले छानबिन थालिसकेको छ।पीडित त्रिलोकप्रताप सिंह 'पिन्टु'का बुवा श्रीनारायण सिंहले "घटना नै नभएको" भनी अन्यायपूर्ण फैसलाको विरोध गर्दै न्यायपरिषद्मा कारबाहीको माग गरेका हुन्।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको अध्यक्षतामा गठित एक सदस्यीय छानबिन समितिमार्फत थारु र महर्जनमाथि अनुसन्धान अघि बढिरहेको छ। उनीहरूलाई परिषद्ले सर्वोच्च अदालतमा काजमा ल्याइसकेको छ।