काठमाडौं । मुलुकको अर्थतन्त्र एक वर्षमा चार खर्ब रुपैयाँले बढेको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार एक वर्षअघि ५७ खर्ब रहेको अर्थतन्त्रको आकार यस वर्ष ६१ खर्ब रुपैयाँ बराबर पुगेको छ ।
गतवर्ष तीन दशमलव ८७ प्रतिशत रहेको आर्थिक वृद्धिदर चालू वर्षमा बढेर चार दशमलव ६१ प्रतिशत पुगेको प्रक्षेपण मन्त्रालयले गरेको छ । यस्तै, गत वर्ष चार दशमलव ४० प्रतिशत रहेको मुद्रास्फीति (महँगी दर) चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म घटेर दुई दशमलव ७७ प्रतिशतमा झरेको छ ।
मन्त्रालयका अनुसार गत वर्षको तुलनामा चालू वर्षमा राजस्व संकलन पनि एक खर्ब आठ अर्ब रुपैयाँले बढेको छ । कुल राजस्व संकलन २०८२ असार २६ गतेसम्म १० खर्ब ९७ अर्ब रुपैयाँ भएको मन्त्रालयले जनाएको छ । जुन कुल लक्ष्यको ७७ दशमलव ३४ प्रतिशत हो ।
पुँजीगत खर्च पनि अघिल्लो वर्षको तुलनामा ३६ अर्ब रुपैयाँले बढेको छ । कुल पुँजीगत खर्च दुई खर्ब आठ अर्ब रुपैयाँ पुगेको मन्त्रालयले जनाएको छ । जुन कुल लक्ष्यको ५९ दशमलव १३ प्रतिशत हो ।
चालू वर्षमा आयात र निर्यातमा पनि वृद्धि भएको छ । मन्त्रालयका अनुसार २०८२ जेठ मसान्तसम्म निर्यात ७७ दशमलव ८० प्रतिशत बढेको छ भने आयात १३ दशमलव एक प्रतिशत बढेको छ । आयात र निर्यात दुवै बढ्नुले देशमा आर्थिक गतिविधि बढेको संकेत गर्छ ।
रेमिट्यान्स आप्रवाह पनि १५ दशमलव पाँच प्रतिशत बढेर १५ खर्ब ३२ अर्ब रुपैयाँ बराबर पुगेको छ । यस्तै, विदेशी विनिमय सञ्चिति १८ अर्ब ६५ करोड अमेरिकी डलर पुगेको छ ।
शोधनान्तर स्थितिमा सुधार भएको छ । २०८१ जेठमा चार खर्ब ९२ अर्ब रुपैयाँ बचतमा रहेको शोधनान्तर स्थिति २०८२ जेठमा चार खर्ब २५ अर्ब रुपैयाँ थियो । यस्तै, चालू खाता बचत २०८२ जेठ मसान्तसम्म तीन खर्ब सात अर्ब रुपैयाँ छ । गत वर्ष सोही अवधिमा दुई खर्ब रुपैयाँ थियो ।
वैदेशिक सहायता प्रतिबद्धतामा पनि वृद्धि देखिएको छ । मन्त्रालयका अनुसार चालू वर्षका यस्तो प्रतिबद्धता एक खर्ब १९ अर्ब रुपैयाँले बढेको छ । यस आर्थिक वर्ष कुल दुई खर्ब १९ अर्बको वैदेशिक सहायता प्रतिबद्धता आएको छ । गत वर्ष यस्तो प्रतिबद्धता एक खर्ब दुई अर्ब रुपैयाँ थियो ।
मन्त्रालयले निजी क्षेत्रमा प्रवाहित कर्जा पनि यस वर्ष बढेको उल्लेख गरेको छ । मन्त्रालयका अनुनसार २०८२ जेठ मसान्तसम्म यस्तो कर्जा वृद्धिदर आठ दशमलव सात प्रतिशत रहेको छ । जुन गत वर्ष सोही अवधिमा पाँच दशलमव छ प्रतिशत मात्रै थियो ।
यस्तै, निर्माण क्षेत्रको गुनासा र माग सुनुवाई गरिएको मन्त्रालयको दावी छ । अघिल्लो वर्षको दायित्व ३० अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी भएको मन्त्रालयले जनाएको छ ।
अर्थतन्त्रका १८ क्षेत्र सकारात्मक
अर्थ मन्त्रालयले अर्थतन्त्रका १८ वटा क्षेत्रका सूचकहरू सकारात्मक देखिएको जनाएको छ । सकारात्मक देखिएका क्षेत्रहरूमा यातायात, निर्माण, खानी, विद्युत् तथा ग्यास, व्यापार, बैंक तथा बीमा, उद्योग, घरजग्गा, सूचना प्रविधि, कृषि तथा वन, प्रशासनिक सेवा, स्वास्थ्य, वैज्ञानिक सेवा, औद्योगिक उत्पादन, शिक्षा, आवास तथा भोजन आदि रहेका छन् ।
अर्थतन्त्रले सकारात्मक संकेत देखाए पनि मन्त्रालयले लक्ष्यअनुसारको राजस्व संकलन, पुँजीगत खर्चमा थप वृद्धि र ‘ग्रे लिस्ट’बाट बाहिर निस्कनेजस्ता चुनौतीहरू अझै कायम रहेको उल्लेख गरेको छ ।