काठमाडौं । बीमा कम्पनीहरूले संकलन गर्ने बीमा शुल्क रकम बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको ११ महिना (साउन–जेठ)सम्म सञ्चालनमा रहेका १४ वटा निर्जीवन र १४ वटा जीवन बीमा कम्पनीहरूले कुल एक खर्ब ९५ अर्ब चार करोड १६ लाख ११ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जुन गत आर्थिक वर्ष (आव)को सोही अवधिको तुलनामा चार प्रतिशत अर्थात् २४ अर्ब ६१ करोड ३७ लाख रुपैयाँ बढी हो । गत आवको सोही अवधिमा बीमा कम्पनीहरूले कुल एक खर्ब ७० अर्ब ३२ करोड ७८ लाख १४ रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
जीवन बीमा कम्पनीहरूले यस आर्थिक वर्षको ११ महिनामा संकलन गरेको बीमा शुल्क रकम एक खर्ब ५५ अर्ब १५ करोड ७५ लाख ३६ हजार रुपैयाँ छ । जुन गत आवको सोही अवधिको तुलनामा १६ प्रतिशतले बढी हो । गत आवको ११ महिनामा जीवन बीमा कम्पनीहरूले कुल एक खर्ब ३३ अर्ब ७५ करोड ८७ लाख पाँच हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । चालू आवको जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्क रकम भने ३९ अर्ब ८८ करोड ४० लाख ७५ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा नौ दशमलव छ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन ३६ अर्ब ५६ करोड ९१ लाख नौ हजार रुपैयाँ थियो ।
प्राधिकरणका अनुसार चालू आवको जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूमा कुल सक्रिय जीवन बीमालेखको संख्या उल्लेख्यरूपमा बढे पनि निर्जीवन बीमा कम्पनीहरूमा बीमालेखको संख्या तुलनात्मकरूपमा कम देखिएको छ । जीवन बीमा कम्पनीहरूमा चालू आवको जेठ मसान्तसम्म कुल एक करोड ५४ लाख ९८ हजार सात सय एक वटा सक्रिय बीमालेख संख्या पुगेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा १० प्रतिशतले मात्र बढी हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूमा सक्रिय बीमालेखको संख्या एक करोड ४० लाख ८९ हजार सात सय ७७ थियो । चालू आवको जेठ मसान्तसम्ममा निर्जीवन बीमालेखको संख्या २९ लाख २५ हजार पाँच सय २९ पुगेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा सात दशमलव ८७ प्रतिशतले मात्र बढी हो । प्राधिकरणका अनुसार गत आवको सोही अवधिमा कुल निर्जीवन बीमालेखको संख्या २७ लाख १३ हजार ७१ रहेको थियो ।
चालू आवको जेठ मसान्तसम्ममा बीमाको दायरामा आएको कुल जनसंख्या प्रतिशत म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित ४७ दशमलव ९५ प्रतिशत छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा चार प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बीमाको दायरामा आएको कुल जनसंख्या ४३ दशमलव ९५ प्रतिशत थियो ।