काठमाडौं । न्यूनतम पारिश्रमिक वृद्धि गर्न श्रमिकहरू सडक प्रदर्शनमा उत्रिएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)को आह्वानमा श्रमिकहरूले बिहीबार राजधानीको रत्नपार्कमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी काठमाडौंमा श्रमिक संघ–संगठनहरूले जेटीयूसीसीले निर्धारण गरेको ३० हजार चार सय ४३ रुपैयाँ न्युनतम पारिश्रमिक सुनिश्चित गर्न, त्रिपक्षीय सहमतिमा पारिश्रमिक निर्धारण गर्न र श्रम कानुन व्यवहारमा लागू गर्न माग गरेको थिए । जेटीयूसीसीका अध्यक्ष जगत सिम्खडाले संविधान प्रदत्त श्रम ऐनको दफा ११ अनुसार प्रत्येक दुई वर्षमा तलब भत्ता वृद्धि हुनुपर्ने भए पनि अहिलेसम्म नहुँदा देशभरि आन्दोलन भएको बताए ।
यस्तै, श्रमिकहरूले श्रम कानुनको कार्यान्वयन गर्न पनि माग गरेका छन् । श्रम कानुन कागजमा नभई व्यवहारमा लागू गर्नुपर्ने, सामाजिक सुरक्षामा सबै श्रमिकलाई सूचीकरण गर्र्नुपर्ने उनीहरूको माग छ । जेटीयूसीसीको आह्वानमा श्रमिकहरूले बिहीबार सात प्रदेश र देशभरिका मुख्य औद्योगिक सहरमा आन्दोलन गरेका थिए ।