काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले हालै भोटेकोशीमा आएको बाढीले नेपालतर्फका १० भन्दा बढी जलविद्युत् आयोजनामा क्षति पु¥याएको जनाएको छ । रसुवा र नुवाकोटमा निर्माणाधीन तथा सम्पन्न भइसकेका ती जलविद्युत् आयोजनामा क्षति पुगेको हो ।
इप्पानले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै गत मङ्गलबार बिहान चीनको तिब्बतदेखि नेपाल प्रवेश गर्ने ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले सञ्चालनमा रहेका करिब दुई सय ५० मेगाबाट हाराहारीका जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको जनाएको छ । साथै, दुुई सय ५० मेगावाटभन्दा बढी क्षमताका आयोजनाको निर्माण कार्य रोकिएका छन् । इप्पानका अध्यक्ष गणेश कार्कीले एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत्, ६० मेगावाटको त्रिशुली–३ ए जलविद्युत्, २५ मेगावाटको त्रिशुली जलविद्युत् केन्द्र, २२ मेगावाटको चिलिमे जलविद्युत्, १४ मेगावाटको माथिल्लो मैलुङ, १४ मेगावाटकै देवीघाट जलविद्युत् परियोजना र पाँच मेगावाटको मैलुङ खोला जलविद्युत्को उत्पादन बन्द भएको बताए ।
यीमध्ये मैलुङ, माथिल्लो मैलुङ, देवीघाट र त्रिशुली जलविद्युत् केन्द्रको विद्युत् प्रवाह हुने त्रिशुली ३ बी हव सबस्टेसनमा क्षति भएका कारण उत्पादन बन्द भएको कार्कीले जानकारी दिए । उनका अनुसार देवीघाट, त्रिशुली र त्रिशुली–३ ए बाहेक अन्य सबै जलविद्युत् आयोजना निजी क्षेत्र समेतको सहभागितामा निर्माण भएका आयोजना हुन् । निर्माणाधीन आयोजनामा दुई सय १६ मेगावाटको माथिल्लो त्रिशुली–१, एक सय मेगावाटको सुपर त्रिशुली, ३७ मेगावाटको त्रिशुली–३ बी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्याउँदा यी आयोजनाको निर्माण कार्य पनि रोकिएको छ । त्रिशुली–३ बी सबस्टेसन र प्रसारणलाइनमा क्षति पुगेका कारण यहाँबाट उत्पादन हुने विद्युत् आगामी केही दिनसम्म उत्पादन र प्रसारण नहुँदा हरेक दिन करोडौँ रुपैयाँको उत्पादन घाटा व्यहोर्नुपर्ने कार्कीले जानकारी दिए ।
इप्पानले उक्त क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गरी विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरण गरी विद्युत् उत्पादन र प्रसारण हुने व्यवस्था मिलाउन तथा थप जनधनको क्षति हुन नदिन आवश्यक कार्य अघि बढाउन इप्पानले माग गरेको हो ।