काठमाडौँ । विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गतिसँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तानवृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने बताए । उनले सृष्टिको सृजनाका लागि मानव जाति जति मूल्यवान् अर्को कोही नभएको उल्लेख गरे ।
सन्तानले डाँडाकाँडा ढाकून् नभन भनेर जनचेतना फैलाउँदा उल्टो असर परी सन्तान नै नजन्माउने परिस्थिति सिर्जना भएकातर्फ चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले २० वर्षपछि मात्र विवाह गर्न पाउने कानुनी व्यवस्था भएबमोजिम समयमै विवाह गरी ३० वर्षभित्र तीन सन्तान पाइसक्न र ४० कटेपछि रमाउला भन्ने गीतमा नअल्मन आग्रह गरे ।
उनले विकसित देशहरूमा समेत जनसङ्ख्याको वृद्धिदर ऋणात्मक हुँदा यसले समग्र विश्व प्रभावित भइ मानव अस्तित्वमाथि नै सङ्कट आउनसक्ने चिन्ता व्यक्त गरेका छन् ।