काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, संविधानले नचिनेको ‘श्री ५ महाराजधिराज’ उपाधि प्रयोग गरेको र संविधानमा नभएको ‘संवाद सचिवालय’ नामबाट पत्राचार गरेको विषयमा सोधपुछका लागि पाठकलाई नियन्त्रणमा लिइएको हो।
पाठकले यसअघि वैशाख १३ गते जारी गरेको समवेदना सन्देशमा पनि 'श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट बक्सेको समवेदना' उल्लेख गरिएको थियो, जसले संविधानिक मान्यता र प्रचलनमाथि प्रश्न खडा गरेको थियो।
यो विषय संसदमा समेत उठेको थियो। नेकपा एमालेका सांसद ठाकुर गैरेले संसदमा आपत्ति जनाउँदै भनेका थिए, “नेपालको संविधानमा ‘श्री ५ महाराजधिराज’ भन्ने शब्द कहाँ छ? कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन?” गैरेले तत्काल संवाद सचिव पाठक र पूर्वराजालाई कारबाही गर्न माग गरेका थिए। पाठकमाथि हाल अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।