टेक्सास । अमेरिकी अर्बपति एलोन मस्कको कम्पनी एक्स एआईले आफ्नो सबैभन्दा शक्तिशाली एआई मोडेल ग्रोक ४ लाई सार्वजनिक गरेको छ । एक्स एआईका मालिक मस्कले ग्रोकक–४ लाई संसारकै शक्तिशाली र स्मार्ट एआई दाबी गरेका छन् ।
ग्रोकलाई भिडियो उत्पादनको लागि पनि तालिम दिइने भएको छ । यस वर्ष ग्रोक प्रयोग गरेर सिर्जना गरिएको विश्वको पहिलो एआई–उत्पन्न टिभी कार्यक्रम रिलिज गर्ने तयारी पनि गरिएको छ । यस्तै अर्को वर्ष सम्भवतः पूर्ण एआई–उत्पन्न फिल्म सार्वजनिक हुनेछ । मस्कको दाबी छ कि अर्को वर्षसम्म ग्रोकले नयाँ प्रविधिहरू र सायद नयाँ भौतिकशास्त्र पत्ता लगाउन सक्नेछन् ।
मस्कले गणित, तर्क वा शैक्षिक बेन्चमार्कजस्ता परम्परागत परीक्षण प्रश्नहरू अब एआईको क्षमताहरूको न्याय गर्न पर्याप्त नभएको बताएका छन् । उनले ग्रोक–४ ले सबै प्रश्नहरुको सजिलै समाधान दिने स्मार्ट एआई भएको बताएका छन् । मस्कले भने, ‘अब एआईको वास्तविक परीक्षा वास्तविक संसारमा हुनेछ, जहाँ यसले कार, रकेट, औषधिजस्ता ठोस चिज सिर्जना गर्दछ र यो काम गर्छ भनेर प्रमाणित गर्दछ ।’
ग्रोक–४ भौतिकशास्त्र स्तरको कम्प्युट पावर भएकोे, उन्नत तर्क गर्न सक्ने, ऐतिहासिक अनुसन्धान गर्न सक्ने, आवाज अनुभव भएको, प्रोग्रामरहरुको लागि मद्दत गर्ने विशेषता रहेको मस्कको दाबी छ ।