काठमाडौं,पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको माओवादी आन्दोलनको उपलब्धि, गल्ती र भविष्यबारे ६ बुँदे समीक्षा प्रस्तुत गरेका छन्। उनका अनुसार आन्दोलनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, महिला र दलित अधिकार जस्ता महत्वपूर्ण ऐतिहासिक परिवर्तन दिलाएको भए पनि नेतृत्वको दोहोरो लाइन र आत्मकेन्द्रित रणनीतिले आन्दोलनलाई दिशाहीन बनाएको हो।
भट्टराईले माओवादी आन्दोलनलाई विश्वकै सफल सशस्त्र क्रान्तिहरूमध्ये एक भनेका छन्, तर "फौजी जीत नपाएको, समयमै स्पष्ट रणनीति नलिएको र शक्ति सन्तुलन नबुझेको" कारण सापेक्ष सफलता मात्र भएको ठहर गरेका छन्।
उनले क. प्रचण्डको "मुखमा चुनाव, मनमा विद्रोह" शैली, पालुङटार र सिकुटे बैठकका अड्चनहरू, र २०६९ मा संविधान जारी नहुनु इतिहासकै गम्भीर भूल भएको बताएका छन्।भट्टराईका अनुसार माओवादी आन्दोलन अहिले स्खलित भएको होइन, नयाँ चरणमा प्रवेश गरेको हो।
अबको चुनौती भनेको वैचारिक, सांस्कृतिक र सांगठनिक पुनर्संरचना हो जसले चौथो औद्योगिक क्रान्तिको युग र भूमण्डलीकृत पूँजीवादको सञ्जालसँग टक्कर दिन सकोस्। उनले माओवादी आन्दोलनको पुनर्गठनका लागि नयाँ वैकल्पिक राजनीति र दर्शनको संश्लेषण आवश्यक भएको बताउँदै, "सिर्जनशील कम्युनिष्ट नेतृत्व" निर्माणको खाँचो औंल्याएका छन्।