हेटौंडा — बागमती प्रदेशमा यस वर्षको मनसुनमा ३ लाखभन्दा बढी नागरिक प्राकृतिक विपद्बाट प्रभावित हुने अनुमान गरिएको छ। आन्तरिक मामिला तथा योजना मन्त्रालयको ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८२’ अनुसार ७४ हजार ९१४ घरपरिवारका ३ लाख २७ हजार ३७६ नागरिक बाढी, पहिरो, डुबान र आकस्मिक विपद्को जोखिममा छन्।
विशेष जोखिममा पर्ने जिल्लाहरूमा चितवन, दोलखा, सिन्धुपाल्चोक र काठमाडौं रहेका छन्। त्यस्तै रामेछाप, धादिङ, नुवाकोट र ललितपुर मध्यम जोखिममा परेका छन्। उत्तरी तथा पहाडी भूभागमा सामान्यभन्दा बढी वर्षाको पूर्वानुमान रहेको मन्त्रालयले जनाएको छ। असार ९ गतेको बैठकबाट पारित उक्त कार्ययोजना लागू भइसकेको छ।