नेपाली कांग्रेसका नेता तथा राजपुर नगरपालिकाका मेयर डा. मोहम्मद राजिक आलमले आफ्ना बाबु अफताब आलमविरुद्ध झुठा मुद्दा लगाइएको दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले २०६४ सालको चुनावमा तत्कालीन एमाले उम्मेदवार शैलेन्द्र साहले व्यक्तिगत रिसइबीका कारण बम विस्फोटको बनावटी मुद्दा चलाएको आरोप लगाए। "बम विस्फोट भएको होइन, घटना नै घटेको थिएन," उनले दाबी गरे, "स्टोभ पड्किएको घाउलाई बम काण्ड बनाइएको हो।"अधिवक्ता सञ्जिवकुमार मल्लिकले समेत प्रमुख प्रमाणका रूपमा प्रयोग भएका गौरीशंकर चमारको पुरानो बयान उद्धृत गर्दै उनले घाइते हुने घटना स्टोभ पड्किएको कारण भएको पुष्टि गरेका छन्। राजिक आलमले बाबु अफताब आलमलाई प्रतिशोध स्वरूप फसाइएको भन्दै मुद्दा खारेज गर्न माग गरे।