भक्तपुर ,डलर साट्ने बहानामा एक व्यक्तिबाट ७ लाख रुपैयाँ नगद र मोबाइल लुटपाट गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ।सिन्धुपाल्चोक र ललितपुरका ती चारजनाले आफूहरूसँग ६ हजार अमेरिकी डलर रहेको बताउँदै ७ लाख रुपैयाँ साट्न आग्रह गरेका थिए। असार २२ गते चाँगुनारायण नगरपालिका–४ को जंगलमा बोलाएर नक्कली पेस्तोल देखाई नगद र आइफोन लुटेर फरार भएका थिए। उक्त घटनापछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखाको टोलीले असार २६ गते उनीहरूलाई भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो।पक्राउ पर्नेमा पर्वत तामाङ (२८), प्रकाश तामाङ (२५), सागर उर्फ सन्तबिर पाइन (३६) र विष्णु कुमार रुम्बा (३५) रहेका छन्। उनीहरूबाट दुईवटा सवारीसाधन, विभिन्न मोबाइल, बैंकको रसिद, चेक र नगद रकम बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको छ।