जनकपुरधाम , मधेस प्रदेशसभामा बजेट छानबिन कार्यदलमा मन्त्रीको नाम समावेश गरिएको विषयलाई लिएर प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरुद्ध गरेका छन्। लगातारको अवरोधपछि सभामुख रामचन्द्र मण्डलले कार्यदल संयोजक पदबाट राजीनामा दिएका छन्।
बजेटको पारदर्शिता छानबिन गर्न गठन गरिएको कार्यदलमा मन्त्रीको नाम राखिएको भन्दै माओवादी केन्द्रलगायत विपक्षी सांसदहरू आक्रोशित बनेका हुन्। सांसद युवराज भट्टराईले सरकार पक्षले सहमतिलाई बेवास्ता गरेको आरोप लगाए।
सभामुख मण्डलले समय अभावका कारण संयोजक जिम्मेवारी सम्हाल्न नसक्ने बताएका छन्। तर, कार्यदलको संरचना परिवर्तन नभएसम्म विपक्षीको विरोध जारी रहने संकेत विपक्षी सांसदहरूले दिएका छन्।
सभामुखले अर्थमन्त्रीलाई जवाफ दिन बोलाउँदा विपक्षी सांसदहरूले रोष्टम घेराउ गरेपछि बैठक फेरि स्थगित गरिएको हो। सदनको अवरोध कायमै रहेकाले मधेस प्रदेशको बजेट प्रक्रिया प्रभावित हुँदै गएको छ।