काठमाडौँ, वैदेशिक रोजगारी र डलर साट्ने प्रलोभनमा नागरिकलाई ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।अल्बानिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा विमला दनुवार र रामकुमारी रोक्का मगर पक्राउ परेका छन्। उनीहरूले संयुक्त रूपमा ६ जनाबाट १० लाख रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ।
पक्राउ परेपछि दुवै जनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।यसैगरी, छ हजार डलर साटिदिन्छु भन्दै ७ लाख रुपैयाँ लिई फरार भएका ४ जना युवालाई पनि भक्तपुरबाट पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा पर्वत तामाङ, प्रकाश तामाङ, सागर पाइन र विष्णुकुमार रुम्बा छन्। उनीहरूले नक्कली पेस्तोल देखाएर जंगलमा लगेर नगद र मोबाइल लुटेको उजुरी परेको थियो।प्रहरीले उनीहरूबाट मोबाइल १० थान, नगद ६४ हजार, स्कुटर र मोटरसाइकलसहित केही प्रमाणहरू बरामद गरेको जनाएको छ।