काठमाडौं । एक जना ऐतिहासिक ‘पृथ्वीपथ’का अभियन्ता हुनुहुन्छ डा. रामप्रसाद उप्रेती । उहाँ ऐतिहासिक किन हो भने मदन भण्डारीको ‘दुर्घटना नभएर हत्या’ हो भन्ने दशी प्रमाणका लागि उहाँ एक्लो जीवित साक्षी हुनुहुन्छ । उहाँ अन्तर्राष्ट्रियस्तरमै कौशलता निपुणताको डंका बजाउनुभएका मेडिकल डाक्टर हो र मदन भण्डारीको लासको ‘पोस्टमार्टम’ गर्ने अवसर पाउनुभएको थियो । उहाँको ‘रिपोर्ट’अनुसार मदन भण्डारीको पेटमा नदीको एक थोपा पनि पानी थिएन । जिउँदो मानिस नदीमा डुबेर मर्दा त्यो पानी पेटमा नपुग्ने सम्भावना हुन्न । मारेको मानिसलाई नदीमा फाल्दा लासको पेटमा पानी पुग्ने सम्भावना हुन्न । मदनकी विधवा विद्या भण्डारीलाई आशंका भएअनुसार त्यो पोस्टमार्टम रिपोर्ट खड्ग ओली र माधवकुमार नेपालले लुकाएका छन् । सायद यसै कारण पनि हुन सक्छ विद्या भण्डारी माधवकुमार नेपाल आफैँ सकिएपछि पछिल्लो चरणमा खड्ग ओलीलाई सक्न अग्रसर भएकी हुन् । त्यो रिपोर्ट लुकाएका मात्र छन् कि नष्ट गरिसके आफूलाई थाहा नभएको डा. उप्रेतीले भन्ने गर्नुभएको छ । हुन त कांग्रेसको प्लेन अपहरणकालतिरका दुर्गा सुवेदीका लगौँटीया यार शैलजा आचार्यलाई चुनाव हराउन गिरिजाका दाहिने हात एक समयका खुङ्खार कांग्रेसी पछि एमाले प्रवेश गरेका उमेश गिरीले पनि मदन भण्डारीको हत्याराबारे हरेक वर्षजस्तो मिडियामा भाइरल हुनेगरी आफूलाई साक्षी प्रमाणका रुपमा प्रस्तुत हुने गरेका छन् । तर उनको प्रस्तुतीलाई डा. उप्रेतीको पोस्टमार्टमजस्तो विश्वसनीय मानिएको छैन । यसै अर्थमा मैले उप्रेती डाक्टर साहेवलाई ‘ऐतिहसिक’ संज्ञा दिएको हुँ ।
यहाँनेरी सत्तारुढ सबैभन्दा ठूलो दल कांग्रेस केन्द्रीय समितिको बैठकमा देखिएको ‘विनोद चौधरी–शेखर कोइराला रडाको’ सामयिक सन्दर्भमा कुरो उठ्दा मदन भण्डारीको ‘पोस्टमार्टम रिपोर्ट’ प्रसङ्ग कहाँबाट आयो ? प्रश्न उठ्न सक्छ । राजनीतिको पहिलो पाठशाला (कखग) इतिहास हो भन्ने पाठ्यक्रमलाई नयाँ पुस्ताले जान्न, बुझ्न चुक्नु हुन्न भन्ने सन्दर्भमा मदन भण्डारीको अलिकति इतिहास अभिलेख गर्न चाहेको हुँ । यस चाहनाको तार (कनेक्सन) डा. रामप्रसाद उप्रेतीको ‘कांग्रेसबारे आफूले नबुझेको’ कथन प्रसङ्गमा पुगेपछि सामयिकतामा जोडिने प्रस्ट पार्न चाहन्छु ।
नेपाली जनआन्दोलनको इतिहासमा बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी आदि÷इत्यादि जति पनि नेताहरुको नाम आउँछ, उहाँहरु ०७ सालको परिवर्तनले जन्माएको नेताहरु हो । ०४६ सालको परिवर्तनले जन्माएको टड्कारो नेतामा एक्लो मदन भण्डारी मात्र इतिहासमा बाच्ने देखिन्छ । जस्तो ०७ साल यताको राजनीतिक इतिहासमा वैचारिक नेतृत्वमा बीपी मात्र एक भेटिनुहुन्छ भने ०४६ यताको वैचारिक नेतृत्वमा मदन भण्डारीसँग तुलनीय अझसम्म देखा पर्न सकेको छैन । राजा ज्ञानेन्द्रले पछिल्लो पटक ७९औँ जन्म दिवसका अवसरमा भनेअनुसार नेपालमा जन्मेर पनि नेपाली मन नभएकाहरुले ‘कमरेड’बाट ‘निष्ठा’ भएका प्रचण्डलाई बीपी र मदनजस्तै वैचारिक नेता पाठ्यक्रम बनाउने गरेका छन् । तर त्यो उनको सम्भावना जुनदिन १७ हजारभन्दा बढी नेपाल आमाका सपूतहरुको आहुति र बलिदानको मूल्यमा विकसित भएको नेतृत्वलाई गिरिजाप्रसाद कोइरालाको हातबाट टीका थापेर राजा ज्ञानेन्द्रबाट पुनर्जीवित संसद्को सांसद भए त्यही दिन उनको इतिहास गिरिजा, देउवा, ओली, माधव आदि÷इत्यादिको स्तरमा झरिहाल्यो । कम्युनिस्ट आन्दोलनको वैचारिक धरातलमा विष्णुबहादुर मानन्धर, तुलसीलाल अमात्य, नारायणमान विजुक्छेको जति पनि इतिहासमा इज्जत रहेन ।
अब आऔँ प्रतिपाध्य विषय मदन भण्डारी हत्याका प्रमाणित साक्षी डा. रामप्रसाद उप्रेतीले कांग्रेस केन्द्रीय समितिमा देखिएको ‘विनोद चौधरी–शेखर कोइराला रडाको’ बारे नबुझेको बुझाउन खोजेको अभीष्टमा । हिजोआज डाक्टर उप्रेतीजस्ता शिक्षित जागरुक (मनमा नेपाल भएका) महानुभाव (नागरिक)हरु ‘पृथ्वीपथ’मा आइपुगेपछि सामाजिक संजालका हात हातका मोबाइलमा कांग्रेस, एमाले, माओवादीका विगत ३६ वर्षका सबै कर्म कुकर्मका ऐना भइदिने गर्नुभएको पाइन्छ । नयाँ पुस्ताका सामाजिक अभियन्ता राजनीतिकर्मीहरुका लागि उप्रेतीजी हामीहरु (पंक्तिकार ७० पार) जस्ताका अनुभवजन्य भण्डाफोर मार्गदर्शनले ‘पृथ्वीपथ’ निकट पुर्याउने हुँदा उहाँहरुजस्ताका कुरा सुन्ने, बुझ्ने, बुझाउने यस्तो लेखकीय शैली अपनाएको हुँ ।
भर्खरै सम्पन्न कांग्रेस केन्द्रीय समितिको सातदिने बैठकमा ओली सरकार ढाल्ने/जोगाउने प्रश्नमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबीच ‘तँ छैनस कि म छैन’ शैलीको रडाको मच्चिएको देखियो । त्यसमा महामन्त्री गगन थापा र दिवङ्गत खुमबहादुर खड्काको केन्द्रीय समितिमा अंशियार उत्तराधिकार मोहन बस्नेतको एक–अर्कालाई नङ्गाइदिने भण्डाफोर धारेहात रडाकोले आगोमा घिउ थप्ने काम गरेको छ । यसमा काखी बजाउने चन्द्र भण्डारी, सुनिल शर्मा, राजेन्द्र बजगाईं, कान्छा तामाङ आदि/इत्यादिहरुको अर्को झुण्डले देखाएका प्रतिक्रिया टिप्पणीले घिउ थपिएको आगोमा दाउरा थपेको जस्तो भएको छ ।
यहाँनेरी प्रस्तुत आलेखको शीर्षक ‘देउवा–कोइराला रडाको’ हुनुपर्नेमा ‘विनोद–शेखर रडाको’ हुन पुगेको चाहिँ डा. रामप्रसाद उप्रेतीले ‘मैले बुझिनँ’ भन्नुभएकाले त्यसमा प्रस्ट पार्ने अभीष्टले हो । डाक्टरसाहेवको नाम एक व्यक्तिका रुपमा नभएर उहाँले प्रतिनिधित्व गर्ने सम्पूर्ण वर्ग र तप्काको प्रतिक उदाहरणका रुपमा लिएको हुँ । तथ्यमा कांग्रेसभित्रको मूल झगडा (रडाको) शेरबहादुर, शेखर, चन्द्र भण्डारी, शशांक, सुजाता (गिरिजा पुत्री), गगन, सुनील, मोहन कान्छाराम आदि÷इत्यादि नामहरुबीचको हुँदा पनि होइन ।
यिनीहरुबीचको रडाको भनेको त देश, जनता, प्रणाली, विचारधारा, नीति, नैतिकताका लागि नभएर जसरी भए पनि (विदेशीका दलाल तस्कर माफियाका भरिया) सत्तामा पुगेर लुटतन्त्र मच्चाएर सत्तामा पुग्न नपाएकाहरुलाई धम्की र घुर्की देखाउने मात्र हो । लुटको सत्ता र सम्पत्तिमा भागवण्डा मिलेपछि फेरि सबै चुप । यो फेरि कांग्रेस पार्टीभित्रको मात्र तथ्य होइन । सबै पार्टीहरु एमाले, माओवादी, राप्रपा, मधेशवादी आदि/इत्यादि भित्र आपसी रडाकोको मूल स्वरुप र चरित्र यही हो । यसको मूल कारण सबै पार्टीहरुबाट विचारधारा हराएर हो ।
पार्टीहरु दलहरुको विषयमा राजनीतिशास्त्रमा प्रस्ट पाठ्यक्रम छ । प्राण गएको मानिस र विचार हराएको पार्टी एउटै हो, लास । लासको प्रकृति समयमै अन्त्येष्टि नभए कुहुन्छ, गनाउँछ र रोग फैलाउन थाल्दछ । यसरी हाल नेपालका दलहरु देश, जनता, प्रणाली र सामाजिक न्यायका लागि कोरोनाभन्दा पनि खतरनाक क्यान्सर भएका छन् । यही अवस्थालाई लिएर राजा ज्ञानेन्द्रले आफ्नो ७९औँ जन्मदिनको प्रेसमिटमा ‘अहिले नेपाल र नेपालीका लागि प्रार्थना (समवेदना) गर्ने समय हो’ भनेका हुन् । तसर्थ कांग्रेसभित्रको अहिलेको शेरबहादुर शेखर कोइराला आदिबीचको रडाको क्यान्सर रोगका किटाणुहरुको नेपाल र नेपालीलाई कसले चाँडै सिध्याउने भन्ने प्रतिस्पर्धाजस्तो मात्र हो । मुलरुपको कलह रडाको भनेको सत्ता र सम्पत्तिबीचकै हो । यतिखेर सत्ताधारी सबैभन्दा ठूलो दलको वरिष्ठ नेता भएका नाताले सत्ताको प्रतिनिधित्व शेखर कोइरालाले (शेरबहादुरबाट रिटायर घोषणा र उनको उत्तराधिकार दावेदार बीपी पुत्र शशांक कोइराला घुस्याहा नेता प्रमाणित) नै गर्छन् भने सम्पत्तिको प्रतिनिधित्व करछली (ठगी) शिरोमणि राजा ज्ञानेन्द्रभन्दा पनि धेरै धनी विनोद चौधरीले गर्ने आम सबैलाई थाहा छ । यसको प्रमाणका लागि धेरै टाढा जानै परेन । त्यही धनको बलमा एक समय चौधरी एमाले नेतृत्वमा पुगेर सांसद भएका थिए भने अहिले शशांकको सिँढी चढेर कांग्रेसको केन्द्रीय सदस्य र सांसद भएका छन् । कांग्रेसको भावी सभापतिको दौड प्रारम्भ भएर शेखर अगाडि देखिएकाले भोलिको सत्ता बार्गेनिङका लागि आजैदेखि विरोध गर्न थालेर भूमिका बाँधेका मात्र हुन् । भोजभतेर, खानपिन, भागबण्डा लेनदेनमा हिजो पनि शेखर–विनोद एउटै किचन र भण्डारमा भेटिन्थ्ये भने भोलि पनि एउटै टेबलमा भुँडी भरिरहेका भेटिने पक्का छ ।
‘भुँडी’को कुरा आउँदा एक जना विश्व विख्यात साधु हुनुहुन्छ सद्गुरु, उहाँ नेपाल आएर द्वारिकाज होटेलमा राजा ज्ञानेन्द्र र नारायणकाजी श्रेष्ठ (तत्कालीन गृहमन्त्री)लाई दायाँबायाँ राखेर दिनुभएको प्रवचन स्मृतिमा ताजा हुन आइपुग्यो । ‘मानिसको खोज प्रयत्न पेट भरेपछि प्रारम्भ हुन्छ । पशुको खोज प्रयत्न पेट भरेपछि अन्त्य हुन्छ’ सदगुरु भन्दै हुनुहुन्थ्यो ।
मुलुकका तीन करोड जनसंख्यामध्ये एक करोड बढी बलिया पाखुरी जनसंख्या विदेशमा कामदार छन् । ६४ प्रतिशत उब्जाउ जमिन बाँझै छन् र ग्रामीण बस्तीका आठ लाख घर खण्डहर भएका छन् । खाद्य सामग्रीलगायत ८३ प्रतिशत उपभोग्य वस्तु आयातमा निर्भर भएर वैदेशिक ऋण २९ खर्ब पुगेको छ । ७५ लाख जनताका छाक काटेर सहकारीमा बचत भएका झण्डै चार खर्ब रकम राज्यसत्ता र आर्थिक प्रणालीमा लुटतन्त्र मच्चाएका ११ हजार गुण्डाहरु (दलहरु र तिनका भात्रीसंस्था)ले हिनामिना (डाकजनी) गरेका आक्रोश, विद्रोह र रुवाबासीले दुर्गा प्रसाईँ, रवि लामिछानेहरु भटाभट जन्मिरहेका छन् । मुलुकको यस्तो कहालीलाग्दो मरणासन्न संकट टड्कारो छर्लङ्ग हुँदा पनि दलीय नेताहरु (देउवा, ओली, प्रचण्ड आदि)का निजी भुँडी र भकारी कहिल्यै नभरिएर केबल सत्ता भागबण्डा गठबन्धनमा मात्र सम्पूर्ण प्रयत्न भइरहेको देखेर भेटेर नै सायद सद्गुरुको माथि उल्लिखित पशु प्रवृत्तिको परिभाषा प्रवचन भएको हो ।
यति कुरा बुझेका क्षण डा. रामप्रसाद उप्रेतीले पनि मूल रडाको शेरबहादुर र शेखरबीच नभएर शेखर–चौधरीबीच नै हो भन्नेमा छर्लङ्ग हुनुहुनेछ भन्ने मेरो अनुमान हो । अनुमान यस कारण भन्दै छु कि व्यक्तिगतरुपमा जति म शेरबहादुर र शेखरलाई चिन्दछु जान्दछु त्यति उप्रेतिबारे जानकारी छैन । अस्तु ।