काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो ११ महिनासम्ममा एक सय ८५ खर्ब ५८ अर्ब ७० करोड तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलन बोलकबोलमार्फत ८१ पटक गरी २७ खर्ब ८४ अर्ब ८० करोड तथा स्थायी निक्षेप सुविधामार्फत एक सय ३५ पटक गरी एक सय ८५ खर्ब ५८ अर्ब ७० करोड तरलता प्रशोचन भएको हो । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ओभरनाइट तरलता सुविधामार्फत उपभोग गरेको दुई अर्ब ७० करोड (कारोबारमा आधारित) घटाउँदा खुद दुई सय १३ खर्ब ४० अर्ब ८० करोड तरलता प्रशोचन भएको छ । अघिल्लो आर्थिक वर्षमा खुला बजार कारोबारका विभिन्न उपकरणमार्फत खुद ३८ खर्ब ६८ अर्ब ८४ करोड तरलता प्रशोचन गरिएको थियो ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को एघार महिनासम्ममा विदेशी विनिमय बजारबाट अमेरिकी डलरको खुद खरिदमार्फत छ सय ७३ अर्ब २५ करोड तरलता प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबारमार्फत सात सय ८३ अर्ब ४७ करोड तरलता प्रवाह भएको थियो । यस अवधिमा अल्पकालीन ब्याजदरहरू स्थायी निक्षेप सुविधा दरकै हाराहारीमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तरबैंक दर अघिल्लो आर्थिक वर्ष औसत तीन दशमलव ६२ प्रतिशत रहेकोमा २०८२ जेठसम्ममा औसत दुई दशमलव ९९ प्रतिशत कायम भएको राष्ट्र बैंकको भनाइ छ । यसैगरी ९१ दिने ट्रेजरी बिल्सको भारित औसत ब्याजदर २०८१ असारमा तीन प्रतिशत रहेकोमा २०८२ जेठमा दुई दशमलव ९४ प्रतिशत कायम भएको छ । बैंक तथा वित्तीय संस्थाको अल्पकालीन ब्याजदरहरू न्यून रहेकोले निक्षेप र कर्जाको ब्याजदरहरू समेत घट्दै गएका छन् । यो अवस्थामा २०८१ जेठमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव १७ प्रतिशत, विकास बैंकहरूको सात दशमलव शून्य सात प्रतिशत र फाइनान्स कम्पनीहरूको आठ दशमलव २८ प्रतिशत रहेकोमा २०८२ जेठमा यस्ता औसत ब्याजदरहरू क्रमशः चार दशमलव २९ प्रतिशत, पाँच दशमलव शून्य दुई प्रतिशत र छ दशमलव शून्य नौ प्रतिशत कायम भएको छ । यसैगरी, २०८१ जेठमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १० दशमलव १५ प्रतिशत, विकास बैंकहरूको ११ दशमलव ६३ प्रतिशत र फाइनान्स कम्पनीहरूको १२ दशमलव ८५ प्रतिशत रहेकोमा २०८२ जेठमा यस्ता औसत ब्याजदरहरू क्रमशः सात दशमलव ९९ प्रतिशत, नौ दशमलव ४० प्रतिशत र १० दशमलव २२ प्रतिशत कायम राष्ट्र बैंकको भनाइ छ ।
बाणिज्य बैंकहरुको १३ प्रतिशत कर्जा कृषि क्षेत्रमा
बाणिज्य बैंकहरुको १३ प्रतिशत कर्जा कृषि क्षेत्रमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ वैशाख मसान्तमा वाणिज्य बैंकहरूबाट लगानीमा रहेको कुल कर्जामध्ये कृषि क्षेत्रमा १३ दशमलव नौं प्रतिशत अर्थात छ खर्ब ४७ अर्ब ८५ करोड रुपैंयाँ कर्जा प्रवाह भएको छ ।
यसैगरी ऊर्जा क्षेत्रमा नौं प्रतिशत अर्थात चार खर्ब १८ अर्ब ७४ करोड र लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा १० दशमलव पाँच प्रतिशत अर्थात पाँच खर्ब तीन अर्ब ३९ करोड रुपैंयाँ कर्जा प्रवाह भएको छ । विकास बैंकहरूबाट कृषि, लघु, घरेलु तथा साना उद्यम÷व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा कुल कर्जाको २६ दशमलव चार प्रतिशत अर्थात एक खर्ब ३२ अर्ब ८८ करोड रुपैंयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको भनाई छ । यस अवधिमा फाईनान्स कम्पनीहरूबाट भने १८ दशमलव आठ प्रतिशत अर्थात १९ अर्ब छ करोड रुपैंयाँ कर्जा प्रवाह भएको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूबाट प्रवाह भएको कुल कर्जा मध्ये २०८१ चैत मसान्तमा औसत पाँच दशलव छ प्रतिशत अर्थात दुई खर्ब ६२ अर्ब २२ करोड रुपैंयाँ कर्जा विपन्न वर्गमा प्रवाह भएको छ । यसैगरी, विकास बैंकहरूबाट सात दशमलव एक प्रतिशत अर्थात ३६ अर्ब १७ करोड र फाईनान्स कम्पनीहरूबाट पाँच दशमलव पाँच प्रतिशत पाँच अर्ब ६० करोड रुपैंयाँ कर्जा विपन्न वर्गमा प्रवाह भएको छ । नेपाल सरकारबाट ब्याज अनुदान प्रदान हुने सहुलियतपूर्ण कर्जा कार्यक्रमअन्तर्गत २०८२ जेठ मसान्तमा ९८ हजार पाँच सय २८ ऋणीलाई प्रवाह भएको कर्जामध्ये ८५ अर्ब १० करोड कर्जा बक्यौता रहेको रहेको राष्ट्र बैंकको भनाई छ ।