काठमाडौं । ब्रिटिस काउन्सिलले दक्षिण एसियाका अंग्रेजी शिक्षकका लागि तीन दिनको निःशुुल्क अनलाइन कन्फ्रेन्स आयोजना गरेको छ । यही जुलाई १७ देखि १९ तारिखसम्म हुन लागेको साउथ एसिया टिचिङ इङलिस अनलाइन कन्फ्रेन्स २०२५ मा सहभागी भई व्यावसायिक विकासको अनुभव हासिल गर्न आयोगले आग्रह समेत गरेको छ ।
निःशुल्क सहभागी गराइने तीन दिनको यो विशेष अनलाइन इभेन्ट प्राथमिक र माध्यमिक तहमा अंग्रेजी विषय अध्यापन गराउने शिक्षक र शिक्षा क्षेत्रका व्यावसायिक व्यक्तिका लागि तयार पारिएको हो । अनलाइन कार्यक्रममा अंग्रेजी भाषा शिक्षणसँग सम्वन्धित केही महत्वपूर्ण सवाललाई सम्बोधन गर्ने सत्रहरू (सेसन) समावेश गरिएका छन् । ‘शिक्षकको व्यावसायिक विकासका लागि सहयोग’ भन्ने विषयवस्तुसहित सम्मेलनमा विज्ञको नेतृत्वमा हुने तीन वटा प्यानल डिस्कसन समेत गरी नौ वटा सत्र सञ्चालन हुनेछ । ती सत्रमार्फत् शिक्षकहरूले सबै विद्यार्थीहरूलाई सहयोग गर्न समावेशी अभ्यास र अंग्रेजी भाषाको शिक्षणमा २१ औँ शताब्दीको नयाँ सीपको समायोजन तथा डिजिटल प्रविधि र आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोग गरी सिकाइ र शिक्षणलाई कसरी अभिवृद्धि गर्न सकिन्छ भन्नेबारे सिक्ने मौका पाउनेछन् ।
सम्मेलनमा बंगलादेश, भारत, नेपाल, पाकिस्तान, श्रीलंका, बेलायत र ग्रिसका प्रतिष्ठित वक्ता तथा अभ्यासकर्ताहरूले कक्षाकोठाभित्र प्राप्त हासिल गरेको दशकौँको अनुभव, प्राज्ञिक अनुुसन्धान र नवीनतम् विषयलाई प्रस्तुत गर्नेछन् । दक्षिण एसिया र त्यसभन्दा बाहिरबाट समेत प्रतिनिधि सहभागी हुने विविधतायुुक्त प्यानलले सहभागीहरूलाई समावेशी शिक्षा, २१ औँ शताब्दीको सिप र डिजिटल प्रयोगको अग्रपङ्क्तिमा रहेर काम गर्दै अंग्रेजी भाषाको शिक्षणलाई नयाँ ढंगले परिभाषित गर्दै आएका अगुवाबाट सिक्ने मौका प्रदान गर्नेछ । क्षेत्रीयस्तरमा विद्यमान शिक्षण विधि र कक्षाकोठाको व्यावहारिक अनुुभवमा आधारित भई विज्ञहरूले सहभागिताका लागि निकै उपयोगी तथा नवीनतम् दृष्टिकोण, प्रयोगात्मक रणनीति र विश्वस्तरीय अवधारणासहित सान्दर्भिक व्यावसायिक सिकाइ प्रदान गर्नेछन्, जसले दक्षिण एसियाको सन्दर्भलाई सवल बनाउन मद्धत गर्नेछ ।