काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एन्ड ई–कमर्सले प्रविधि उत्सव ‘टेक एक्सः एलिभेट २०२५ को तेस्रो संस्करणको घोषणा गरेको छ । यही असार ३२ देखि साउन ३ गतेसम्म चार दिन चल्ने यो विशेष कार्यक्रम कलेजकै परिसरमा आयोजना हुने जनाइएको छ ।
टेक एक्सः एलिभेट २०२५ ले प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूका लागि सिर्जनशीलता, नवप्रवर्तन र उद्यमशीलताका आयामहरूमा अभिव्यक्ति दिने एक उत्कृष्ट प्लेटफर्मको रूपमा आफूलाई स्थापित गरिसकेको छ । यस पटकको संस्करण अझ व्यापक, अझ इनोभेटिभ र अझ प्रेरणादायी बन्ने आयोजकहरूले बताएका छन् । यसको मुख्य विशेषता प्रोजेक्ट प्रदर्शन हो, जहाँ २० भन्दा बढी रोबोटिक्स र एआई आधारित प्रोजेक्टहरू सार्वजनिकरूपमा प्रदर्शन गरिनेछन् ।
यसमा विशेषगरी ज्ञानमा आधारित सहयोगी रोबोट, शिक्षामा प्रयोग हुने स्मार्ट इन्स्ट्रक्सनल रोबोट, सुरक्षा निगरानीका लागि डिजाइन गरिएको रोबोट, भीआरमा आधारित शिक्षण सहायक र कृषिमा एआई प्रयोग गर्ने नवीनतम समाधानलगायतका प्रोजेक्ट प्रदर्शन हुने जनाईएको छ । त्यस्तै, केम्लाब विआर, फिसअवेर, एविलट्विन डिटेक्टरएमल, सुरक्षित एभी स्ट्रिम, फ्लिप आरएफआईडी च्यालेन्जलगायतका अन्य प्रोजेक्टहरू पनि रहेका छन् ।
२५ भन्दा बढी प्रतिष्ठित आईटी कम्पनीहरूको सहभागितामा आयोजना हुने दुई दिने रोजगार मेलामा सहभागीहरूले हजारौँ अवसरहरूको प्रत्यक्ष पहुँच पाउनेछन् । स्नातकदेखि स्नातकोत्तरसम्मका विद्यार्थीहरूका लागि यो एक सुनौलो अवसर हुने अपेक्षा गरिएको छ । साथैै, व्यवसाय सुरु गर्ने इच्छा राख्ने विद्यार्थीहरूका लागि स्थापित फाउन्डर, लगानीकर्ता र मेन्टरहरूको साथमा व्यावसायिक तालिम र प्रत्यक्ष पिच सेसनहरू सञ्चालन हुनेछन् । ‘टेक एक्सः एलिभेट २०२५’ केवल एक प्रविधि महोत्सव मात्र नभई शिक्षा, इनोभेसन र परिवर्तनको गहिरो यात्राको प्रतिबिम्ब हो ।