काठमाडौँ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती समारोहका अवसरमा नेपाली भाषा, साहित्य र संस्कृतिको सम्वर्द्धनमा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको चर्चा गरिएकोछ ।
महर्षि कलेज गोँगबु, मर्स्याङ्दी वाङ्मय प्रतिष्ठान, तीर्थ स्मृति प्रतिष्ठान, ठाकुर छाँगा स्मृति प्रतिष्ठानले आइतबार आयोजना गरेको कार्यक्रमका वक्ताले नेपाली भाषालाई जनताको भाषा बनाउँदै साहित्यलाई सबैको पहुँचमा पुर्याउन भानुभक्तको महत्वपूर्ण योगदान रहेको बताए ।
भानुभक्त आचार्यलाई नेपालमा मात्र नभई नेपाल बाहिर रहेका नेपालीले पनि उत्तिकै आदार र सम्मान गर्ने भानु प्रतिष्ठानका पूर्वअध्यक्ष प्राडा व्रतराज आचार्यले बताए । भानुभक्त आचार्यको योगदानलाई नेपालमा विसं २०१० सालदेखि मात्र नेपाली शिक्षा परिषद् मार्फत कदर गर्न थालिएको उनको भनाइ थियो ।
रम्घा डाँडोलाई भानु उद्यानका रुपमा विकास गर्न लागिएको भन्दै भानुभक्तका पनातिसमेत रहेका काशीराज आचार्यले भानुभक्तको सम्मानका लागि तनहुँको चुँदीरम्घामा बृहत् भानुपार्क निर्माण गर्न लागिएको जानकारी दिए । महर्षि कलेजका क्याम्पस प्रमुख रमेशचन्द्र अधिकारीले पछिल्लो समय नेपाली भाषा, साहित्य र कलाप्रति युवाको मोह घट्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।