नयाँदिल्ली । सामसुङले पनि भारतमा अमेरिकी बजारमा बिक्री हुने स्मार्टफोनहरू बनाउने तयारी गरिरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ व्यापार नीति र अमेरिकामा ट्यारिफ वृद्धिका कारण धेरै कम्पनीहरूले आफ्नो उत्पादन आधारको बारेमा रणनीति परिवर्तन गरिरहेका छन् ।
सामसुङले हाल भियतनामबाट अमेरिकामा स्मार्टफोन निर्यात गर्छ, तर यदि त्यहाँबाट हुने ढुवानीमा २० प्रतिशत शुल्क लगाइयो भने कम्पनीको लागत बढ्नेछ । यस कारणले गर्दा, सामसुङले अब भारतमा रहेको आफ्नो ग्रेटर नोएडा कारखानालाई अमेरिकाको निर्यात केन्द्र बनाउने योजना बनाइरहेको छ ।
सामसुङका विश्वव्यापी अध्यक्ष वोन–जुन चोईले पहिले नै भारतमा केही स्मार्टफोनहरू उत्पादन गरिरहेकाले ती फोन अमेरिका पठाउँदै गरेको जानकारी दिएका छन् । यदि ट्यारिफसम्बन्धी कुनै ठूलो निर्णय भयो भने, भारतमा तुरुन्तै उत्पादन बढाउन सकिने उनले बताए ।
एप्पलले पनि अमेरिकामा बेचिने धेरैजसो आइफोन भारतमा बनाइरहेको छ । रोयटर्सका अनुसार सन् २०२५को मार्च र मे महिनामा भारतबाट निर्यात गरेका सबै आइफोनमध्ये ९७ प्रतिशत अमेरिका पठाएको छ ।