काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक बर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरेको पछि यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ । राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति मार्फत शेयर धितो कर्जाको हाल कायम रहेको १५ करोडको सिमालाई बढाएर २५ करोड रुपैंयाँ कायम गरेसंगै यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ । सो अनुसार शेयर बजार परिसुचक नेप्से आज २९ अंकले उकालो लागेर २७ सय ६० दशमलव ८० बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव १६ अंकले उकालो लागेर चार सय ८१ दशमलव १९ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ११ वटा कम्पनीहरुको एक लाख पाँच हजार चार सय १५ वटकको कारोबारमा तीन करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार चार सय ६७ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत, लगानी, निर्जीवन बीमा, अन्य र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, लघुवित्त सहितका आठ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।