काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । महानगरका उपप्रमुख सुनिता डङ्गोलले आइतबार काठमाडौं महानगरपालिका नगरसभाको १७औँ अधिवेशनमा आगामी आर्थिक वर्षको विनियोजन पेस गरेकी हुन् ।
आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, कार्यालय सञ्चालन तथा प्रशासनिक, पूर्वाधार विकास, सामाजिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट सञ्चित कोषमा भार पर्ने खर्च २५ अर्ब ११ करोड ४३ लाख ११ हजार रुपैयाँ र जग्गा एकीकरण आयोजनाहरू तथा अन्य निकायबाट प्राप्त हुने कार्यक्रमका लागि खर्च रकम ६५ करोड रुपैयाँ सञ्चित कोषमा भार नपर्ने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ११ बराबर रुपैयाँ बराबरको विनियोजन गरिएको उपप्रमुख डङ्गोलले बताइन् । बजेटको स्रोतमध्ये काठमाडौं महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ व्यहोरिने जनाइएको छ ।
यसैगरी, नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त तथा समानीकरण अनुदान र राजस्व बाँडफाँटबाट प्राप्त हुने चार अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँ बराबर रकमलाई पनि बजेटको स्रोतमा देखाइएको छ । आगामी आवका लागि राजस्व संकलन प्रभावकारी बनाउन नयाँ करदाता पहिचान गर्ने, कारोबार हुने स्थलमा नै गएर समन्वय गर्नेलगायत नीति अवलम्बन गरिने जनाइएको छ । महानगरले आगामी पुस मसान्तसम्म करको दायरामा आउने करदाताका लागि छुटको व्यवस्था पनि ल्याएको छ । यस्तै, महानगरले उठाउने बहाल करलाई एकद्वार प्रणालीमा आबद्ध गर्न सङ्घीय सरकारसँग समन्वय गरिने जनाइएको छ ।
चालू आर्थिक वर्षमा आधा मात्रै खर्च
यस्तै महानगरले चालू आर्थिक वर्ष २०८१/८२ का लागि ल्याइएको बजेट आधा मात्रै खर्च गरेको छ । चालू आर्थिक वर्षको लागि महानगरले २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको थियो । सोमध्ये असार २५ गतेसम्म महानगरले १३ अर्ब ३ करोड ७४ लाख ६० हजार मात्र खर्च गरेको उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् । जुन विनियोजनको ५२ दशमलव १३ प्रतिशत खर्च हो ।
महानगरले यस वर्ष पुँजीगत तर्फ ४४ दशमलव ७२ प्रतिशत र चालूतर्फ ६३ दशमलव ४२ प्रतिशत खर्च गरेको छ । महानगरले यस वर्षको लागि पुँजीगत तर्फ १५ अर्ब छ करोड ५६ लाख विनियोजन गरेकोमा ६ अर्ब ७३ करोड ७४ लाख मात्र खर्च गरेको छ । यस्तै, चालू खर्चतर्फ ९ अर्ब ८२ करोड २० लाख ५० हजार विनियोजन गरेकोमा छ अर्ब २२ करोड ९९ लाख ८० हजार रुपैयाँ खर्च भएको छ ।