काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रवन्धक प्रभु क्यापिटलले आइतबार बिहान शेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आईपीओमा कुल २१ लाख ५० हजार छ सय ७२ जनाको आवेदन परेको थियो । जस मध्ये २० लाख ४३ हजार छ सय ८६ जनाको आवेदन मात्र योग्य भएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको कम्पनीको भनाई छ । जसमा दुई लाख ९४ हजार दुई सय ७६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । कम्पनीको आईपीओ बाँडफाँटमा १८ लाख ५६ हजार तीन सय ९६ जनाको हात खाली भएको छ । कम्पनीले असार १८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई २९ लाख ४२ हजार सात सय ६० कित्ता शेयर निष्काशन गरेको थियो । थप सर्वसाधारणमा आईपीओ निष्कासन गर्नु अघि कम्पनीले १० प्रतिशत आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले आफ्नो जारी पूँजीको ४९ प्रतिशत दरले हुन आउने ४४ लाख ५४ हजार ५९६ कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
जसमध्ये १० प्रतिशत दरको ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीयका लागि र सर्वसाधारणमा जारी हुने ३९ कित्ता आईपीओमध्ये १० प्रतिशत दरले हुन आउने तीन लाख ५४ हजार पाँच सय ५० कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिएको हो । यी वाहेक पनि कर्मचारीहरुका लागि ७० हजार नौं सय १० कित्ता र सामूहिक लगानीकोषका लागि एक लाख ७७ हजार दुई सय ७५ कित्ता शेयर बाँडफाँट गरिएको छ ।
कम्पनीले गोरखाको धार्चे गाउँपालिका ४ मा ४.५५ मेगावाको माथिल्लो माछाखोला आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुनबाट विद्युत उत्पादन गरिरहेको छ । हाल कम्पनीमा खग्रेन्द्र न्यौपानेको १४ प्रतिशत, कृष्ण प्रसाद घिमिरेको आठ प्रतिशत, सरोज धितालको आठ प्रतिशत, राजकुमार गुरुङको सात प्रतिशत, इन्द्र बहादुर ढकालको पाँच प्रतिशत, र सुनिल श्रेष्ठको चार प्रतिशत शेयर स्वामित्व रहेको छ ।