काठमाडौं । महालक्ष्मी विकास बैंकको यही असार २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार अश्वीनि कुमार ठाकुर स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३को दफा १४(३)मा भएको व्यवस्थाबमोजिम ठाकुर स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त भएका हुन् ।
उनीसँग नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनी(साबिकः राष्ट्रिय बीमा संस्थान)को प्रमुख कार्यकारी अधिकृत तथा मध्यपश्चिामञ्चल ग्रामीण विकास बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडलगायतका संगठित संस्थाहरूको बोर्ड सदस्यको जिम्मेवरीमा रही कार्य गरेको अनुभव रहेको छ । बैंकका अनुसार आइतबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनले पदबहाली गरेका हुन् । साथै सोही कार्यक्रममा बैंकको सञ्चालक समिति सदस्यहरूले संयुक्तरुपमा उनलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् । उनको विगतको अनुभवले बैंकको समग्र संस्थागत सुशासन अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर एक सय तीनवटा शाखा कार्यालय र आठ लाख ग्राहक छन् ।